बाजपेयी पुत्री नमिता भट्टाचार्यद्वारा सरकारी सेवा सुविधा फिर्ता गरिदिन आग्रह



०९ मंसिर २०७५, काठमाडौं

भारतका पूर्वप्रधानमन्त्री एवम् भाजपाका दिवंगत नेता अटलविहारी वाजपेयीकी धर्मपुत्री नमिता भट्टाचार्यले सरकारी सुविधा फिर्ता गरिदिन सरकारलाई आग्रह गरेकी छिन् । उनले प्रधानमन्त्री कार्यालयमा पत्र लेखेर सरकारले दिएका सबै सुविधा फिर्ता गरिदिन आग्रह गरेकी हुन् ।

उनले पत्रमा आफ्नो परिवार खर्च पुर्याउन सक्ने क्षमतामा रहेकाले सरकारी सेवा सुविधा आवश्यक नरहेको उल्लेख गरेको भारतीय समाचार च्यानल एबीपीले जनाएको छ । नमिताले सेवा सुविधा लिएर सरकारलाई भार पार्न नचाहेको बताएकी छन् । पत्रमार्फत् उनले कृष्ण मेनन मार्गको सरकारी आवास छाडेर निजी घरमा सर्न चाहेको बताएकी छन् । उनले सुरक्षामा खटिएको टोली पनि फिर्ता गरिदिन सरकारलाई भनेकी छन् ।

भारतमा पूर्वप्रधानमन्त्रीको परिवारलाई बिभिन्न प्रकारका सेवा सुविधा छ, जसमा सुरक्षा पनि सामेल छ । त्यसबाहेक पूर्वप्रधानमन्त्रीको परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार, सरकारी कर्मचारी, घरेलु विमान टिकट, रेलमा निःशुल्क यात्रा गर्न पाउने सुविधा छ ।

वाजपेयीको परिवारमा धर्मपुत्री नमिता भट्टाचार्य, ज्वाइँ रन्जन भट्टाचार्य र नातीनी निहारिकासहित अन्य केही सदस्यहरु पनि छन् ।
भारतका पूर्वप्रधानमन्त्रीको परिवारलाई आजीवन सेवासुविधा दिने निर्णय वाजपेयी नेतृत्वको सरकारले नै गरेको थियो । तीन पटक भारतका प्रधानमन्त्री बनेका वाजपेयीको निधन गत साउन अन्तिम साता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्