युरोपियन च्याम्पियन्स लिग : म्यानचेस्टर र लियोन बराबरीमा रोकियो



१२ मंसिर २०७५, काठमाडौं

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रेन्च क्लब लियोनसँग बराबरीमा रोकिएको छ । समूह चरणअन्तर्गत गत राति लियोनको घरमा भएको पाँचौं खेलमा घरेलु टोली लियोनले सिटीलाई २–२ बराबरीमा रोकेको हो ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा ४ वटै गोल दोस्रो हाफमा भएका थिए । जहाँ लियोनका लागि खेलको ५५औं मिनेटमा माक्सवेल कोर्नेटले गोल गर्दा ६२औं मिनेटमा सिटीका एम्रीक लोपेर्टोले बराबरी गोल गरे । त्यसपछि ८१औं मिनेटमा लियोनका लागि कोर्नेटले नै दोस्रो गोल गर्दा लगत्तै २ मिनेटपछि सिटीका लागि सर्जियो अगुइरोले गोल गर्दै खेल बराबरी २–२ को बनाए ।

बाँकी समयमा गोल नभएपछि खेल २–२ को बराबरीमा टुंगियो । यसअघि सिटीको घरमा भएको खेलमा लियोनले १–२ को जित निकालेको थियो । यो बराबरीपछि पनि सटी ५ खेलबाट १० अंक जोडेर अन्तिम १६ मा प्रवेश गरेको छ । लियोनको खातामा ७ अंक छ । गत राति नै भएको अर्को खेलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजविरुद्ध कठिन जित निकाल्यो । आफ्नो घरमा भएको खेलमा युनाइटेडका लागि ९० मिनेटपछि मोउरिनियो फिलानीले गोल गरेर टोलीलाई महत्त्वपूर्ण जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्