रोनाल्डो नायक, युभेन्ट्सद्वारा भ्यालेन्सिया पराजित



१३ मंसिर २०७५, काठमाडौं

इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिग फुटबलका सर्वाधिक सफल खेलाडी मानिन्छन् । कतिपयले उनलाई ‘मिस्टर चयाम्पियन्स लिग’ को उपमासमेत दिने गरेका छन् । तथ्य हेर्दा पनि रोनाल्डो च्याम्पियन्स लिगमा निकै प्रभावशाली खेलाडी मानिन्छन् । उनले हालसम्म एक्लैले ५ पटक च्याम्पियन्स लिग जितेका छन्, जब कि बार्सिलोना क्लबले हालसम्म मात्रै ५ पटक यो उपाधि जितेको छ ।

त्यत्ति मात्रै हैन, रोनाल्डो लिगको इतिहासमै सर्वाधिक धेरै गोल गर्ने खेलाडी पनि हुन् । त्यस्तै, नकआउट चरणमा सर्वाधिक धेरै गोल गर्ने खेलाडीको रेकर्ड पनि उनकै नाममा छ । ३३ वर्षीय रोनाल्डो लिगका पछिल्ला ६ सिजनका लगातारका सर्वाधिक गोलकर्ता हुने भने लगातार ३ सिजन च्याम्पियन्स लिग जित्ने खेलाडी पनि उनी मात्रै एक्लो हुन् । यस्तो तथ्यांक रहेका ३३ वर्षीय रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड रचेका छन् । हाल युभेन्टसबाट खेलिरहेका रोनाल्डोको टोली युभेन्टसले मंगलबार राति समूह चरणको खेलमा स्पेनिस भ्यालेन्सियालाई हरायो ।

सो खेल जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो अब च्याम्पियन्स लिगको इतिहासम सबैभन्दा चाँडो १०० खेल जित्ने एक्लो खेलाडी बनेका छन् । रोनाल्डोले म्यानचेटर युनाइटेड, रियल मड्रिड र युभेन्टस तीन क्लबबाट गरी १०० खेल जितेका हुन् । रोनाल्डो च्याम्पियन्स लिगो इतिहासमै सर्वाधिक धेरै गोल गर्ने खेलाडी हुन् । उनले आजसम्म कूल १ सय ५७ खेल खेलबाट १ सय २१ गोल गरेका छन् भने उनले यसै वर्ष १०० खेल जित्ने एक कोसेढुंगा पनि पार गरेका छन् ।

रोनाल्डो च्याम्पियन्स लिगको सिंगल सिजनमा सबैभन्दा बढी १७ गोल गर्ने खेलाडी पनि हुन् । आजसम्म एकै सिजन गोल गर्ने रेकर्डमा उनलाई अन्य कुनै पनि खेलाडीले भेटेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्