१४ मंसिर २०७५, काठमाडौं
उनी २०३६ सालबाट राजनीतिमा झुकाव राख्न थाले । क्याम्पस अध्ययनको दौरान राजनीति रुचीको विषय बन्यो । तत्पश्चात भूमिगत रुपमा तत्कालिन नेकपा मालेसँग आबद्ध भएर कम्युनिष्ट विचार धारमा अघि बढे । राजनैतिक यात्राका दौरान उनी २०४६ सालमा तत्कालिन नेकपा एमालेको इन्द्रायणी गाउँ कमिटीका सचिव, इलाका कमिटी सचिव, काठमाडौं जिल्ला सदस्य, क्षेत्रीय कमिटी अध्यक्ष हुँदै २०५४ सालमा गाविस अध्यक्ष बनेका सुवर्ण श्रेष्ठ गत स्थानीय तह निर्वाचनबाट शंखरापुर नगरपालिका प्रमुखमा निर्वाचित भएका हुन् । उनीसँग विविध विषयमा रहेर परिवर्तन खबरका लागि कुञ्जर भट्टराईले गरेको कुराकानीः
शंखरापुर नगरपालिकामा मेयरको रुपमा निर्वाचित हुनुभएको पनि करिब डेढ वर्ष भइसकेको छ , यो अवधिमा कस्ता कामहरु भए ?
शंखरापुर नगरपालिका ६ वटा गाउँ विकास समिति मिलेर बनेको नयाँ नगरपालिका हो । नयाँ नगरपालिका भएका कारण धेरै कुराहरु व्यवस्थित गर्नुपर्ने अथवा शुन्यबाटै काम सुरु गर्नुपर्ने थियो । जुन निकै चुनौतिपूर्ण छ । शंखरापुर नगरपालिका २०७२ सालमा गएको विनाशकारी भूकम्पले प्रभावित बनाएको क्षेत्र हो । धेरै मानिसहरुको बास नभएकाले भूकम्पपीडितहरुलाई छाना उपलब्ध गराउनुपर्ने अवस्था थियो । त्यस्तै यो काठमाडौं भित्रकै सबैभन्दा कम आन्तरिक स्रोत भएको नगरपालिका हो । नेपाल सरकारसँग निर्भर हुनु परेकाले पनि हामीलाई अलिक कठीनाई छ ।
त्यति हुँदा हुँदै पनि हामीले आन्तरिक स्रोत र नेपाल सरकारबाट उपलब्ध भएको स्रोतलाई बढीभन्दा बढी प्रयोग ल्याउन सकिन्छ भन्ने आधारमा खाका तय गरेका छौँ । त्यसका लागि पहिलो चरणमा हामीले दीर्घकालीन सोच अर्थात् भिजनरी प्लान बनाउने काममा लाग्यौँ । विज्ञहरुले शंखरापुर नगरपालिकाको विकासको पहिलो आधार पर्यटन हुन सक्छ भन्ने सुझाव दिएका छन् । पर्यटन भित्र पनि एउटा प्राकृतिक पर्यटन र अर्को धार्मीक पर्यटन विकास गर्नेतर्फ लागेका छौँ । त्यस्तै कृषि क्षेत्र पनि यहाँको विकासका लागि महत्वपूर्ण भएकाले यसलाई यान्त्रीकरण र आधुनिकीकरणतर्फ लैजाने काममा लागेका छौँ ।
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नतर्फ लागेका छौँ भन्नुभयो, त्यसका लागि कस्ता काम गर्नुभएको छ ?
यस नगरपालिका भित्र झण्डै ८० प्रतिशत भू-भाग खाली छ । जनचेतनाको अभाव, शहरीकरण र यथोचित् उत्पादन लिन नसक्नु, युवाहरु कृषिमा नलाग्नुले जग्गा बाँझिन थालेका छन् । पहिले यहाँबाट आफूले खाएर निर्यात गर्न समेत पुग्थ्यो तर अहिले आयात गर्ने अवस्था आइसकेको छ । अब हामी कृषिमा नलाग्ने हो भने सबै जग्गा बाँझो हुने अवस्था आउन सक्छ । तसर्थ हामी कृषिमा आधुनिकीकरण र यान्त्रीकरण ढंंगले जानुपर्छ भनेर लागेका छौँ ।
जसका लागि कृषि समुह गठन गरेका छौँ । त्यस्तै बाँझो रहेका जग्गालाई चक्लाबन्दी गर्ने भन्ने विचारमा पुगेका छौँ । यान्त्रीकरणमा जाँदा आवश्यक पर्ने कुराहरु के-के हुन भनेर वडावडामा आव्ह्वान गरेका छौँ ।
नगरपालिकालाई पर्यटकीय हब बनाउनका लागि कस्ता योजनाहरु बनेका छन् ?
गत बर्ष हामीले भिजनरी प्लान बनायौँ । मणिपुर ,बज्रयोगिनी मन्दिर, सालीनदी, थाना भञ्जयाङ, जरसिंह पौवा यसै नगरपालिका भित्र छन् , त्यसका लागि हामीले केही बजेट छुट्याएका छौँ । हामी अहिले डिपिआर बनाउन गइरहेका छौँ । शालिनदीको डिपिआर बनिसकेको छ । अब हामी शंखरापूरको डिपिआर बनाउन गइरहेका छौँ । शंखरापुर लगभग ३६ प्रतिशत जंगल रहेको क्षेत्र , धार्मीक रुपमा पनि सबल रहेको क्षेत्र हो । पुराना शैलीका घरहरु पर्टकीय आकर्षको बस्तु हो । पूरानै शैलीका घर निर्माणका लागि नक्सा पासमा छुट गरेका छौँ । मौलिक घर अरुभन्दा महंगो भएपनि यसबाट पर्यटकलाई लोभ्याउन सकिन्छ ।
युवा लक्षित कार्यक्रम कस्ता छन् ?
राज्यले सबै युवालाई रोजगारी दिन सक्ने अवस्था पनि छैन् । देश औधोगिकरणमा गइसकेको पनि छैन् । त्यसकारण हाम्रो मुख्य जोड भनेको युवाहरुलाई कृषिमा कसरी आकर्षित गर्ने भन्ने छौँ । त्यस्तै उनीहरुलाई आकर्षित गर्न होम स्टे सञ्चालन गर्ने । त्यहाँ होटलहरु खुल्ने क्रममा छन् । कुक, वेटरको तालीम दिने तयारी गरेका भोलीका दिनमा हामीले साइकिलिङ र हाइकिङको समभाव्यता अध्ययन गर्दैर्छौँ । यी कुराहरुलाई लागू गर्न सक्यौँ भने यहाँका युवाले यहीँ रोजगारी पाउन सक्नेछन् ।
यस नगरपालिकाका लागि कति बजेट छुट्टिएको छ ?
नगरपालिकका लागि नेपाल सरकारबाट गत साल पुँजीगततर्फ १४ करोड रकम थियो भने यस वर्ष पाँच करोड घटेर ९ करोड बजेट परेको छ । बजेट घटेर आउँदा वडाहरुमा गत वर्ष जस्तो बजेट दिन सकिएन् । त्यसले विकासको काममा असर पुर्याएको छ । तथापी प्रदेश सरकारले भने थप पाँच करोड विशेष अनुदान दिएको छ ।
हामीले सडकको सवालमा लगभग ४० प्रतिशत , खानेपानी लगभग २५ प्रतिशत, ५० प्रतिशत जति सामुदायिक भवनमा खर्च गरेका छौँ । त्यो लगायत सिचाइ, पहिरो रोकथाम, र तत्कालिन विपदका लागि कोष नै खडा गरेर अगाडि बढेका छौँ ।
चुनावी घोषणापत्रमा यहाँले भने जस्तै गरी कामहरु अघि बढेका छन् त ?
हामले घोषणा पत्रमा जे भनेका छौँ त्यसैमा टेकेर अघि बढेका छौँ । तर विकास गर्न समय लाग्छ । हामीसँग नगरको प्रोफाईल थिएन् त्यो बनाउन गइरहेका छौँ । त्यसकोभौगोलिक अवस्था बनाउन गइरहेका छौँ । जिएस म्याप बनाउने तयारी छ । गत वर्ष हामीले प्लान गर्यौँ अब देखिने काम गर्छौ । त्यसबाट नगरको समस्या पनि जानकारी पाउन सकिन्छ ।
जनप्रतिनिधिहरुले देखिने काम गरेनन् भन्ने गुनासो आइरहेको छ । जुन अब बिस्तारै हट्दै जान्छ । हामीले फाउण्डेशन बनाउने काम गरेको देखिन्छ । मानिसले जग कति बलियो छ भन्ने हेर्दैन रङ लगाइसकेपछि कति राम्रो रहेछ भन्छ त्यो हामी मानवको स्वभाव नै हो । हामी जग बनाउने काममा नै लाग्यौँ । हामीकहाँ नगर हस्पिटल छैन् । त्यसकारण प्रत्येक वडामा स्वस्थ्य केन्द्र खोल्ने र नगर हस्पिटल बनाउने भनेर लागेका छौँ ।
भूकम्पले चुनौती त थप्यो, त्यो सँगसँगै अवसर पनि आएको छ । धेरै विद्यालयहरु निर्माण हुने अवस्थामा पुगेका छन् । स्वास्थ्य भवन बन्ने अवस्था देखिएको छ । हामीले नगरपालिका र वडा भवन यस वर्षबाट सुरु गर्ने भनेर लागिरहेका छौँ ।त्यस्तै हामीकहाँ प्रमुख समस्याको रुपमा रहेका सडक पनि सुरुवात गरेका छौँ । पर्याप्त बजेट नभएकाले राज्यलाई गुहारेका छौँ ।
सडकको हकमा दुईटा डिपिआर बनायौँ । एउटा मनमोहन मार्ग (जौरसिङ पौवा, नाङ्ले, फड्केश्वर हुँदै मेलम्ची) जसका लागि लगभग ५२ करोडको बजेट चाहिने देखिन्छ । त्यस्तै अर्को बज्रयोगिनी भोटेचौर चौकी भञ्याङसम्मको लागि लगभग ५० करोड बजेट लाग्ने देखिन्छ । त्यसका लागि काम अघि बढेको छ । सम्भवत अर्को बजेट अघि नै सडक निर्माणमा अघि बढ्छौँ भन्ने अपेक्षा लिएका छौँ ।
अन्त्यमा…,
हामीले योजनाबद्ध ढंगबाट काम अगाडी बढाएका छौँ । डिपिआरको काम अघि बढाउन अर्को वर्ष लगानी गर्न चाहने स्टे होल्डरहरुलाई आब्हान गछौँ । हामीकहाँ अवसर धेरै छन्, सरकारको मात्र मुख नताकी हामी आफैँ सक्रियताका साथ लाग्यो भने पनि धेरै काम गर्न सक्छौँ । पाँच वर्ष भित्र सकारात्मक काम देख्न पाइन्छ । किनभने मैले इमान्दारपूर्वक काम गरेको छु , इमान्दारिता पक्कै पनि देखिन्छ ।