१६ मंसिर २०७५, काठमाडौं
इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले रेलिगेसन क्षेत्रको साउथह्याम्पटनसँग २–२ को बराबरी खेलेको छ । खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।
घरेलु मैदान सेन्ट मेरिजमा साउथह्याम्पटनले खेलको १३ औं मिनेटमा गोल गरेको थियो । युनाइटेडको डिफेन्समा तालमेल नमिलेको फाइदा उठाउँदै आर्मस्ट्र्ङले माइकल ओबाफेमीको पासलाई सदुपयोग गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटमा नै साउथह्याम्पटनले अग्रता दोब्बर पार्यो । सेड्रिक सोआरेसले उत्कृष्ट फ्रिकिक गोल गर्दै आफ्नो सयौं खेललाई यादगार बनाए ।
तर युनाइटेडले पहिलो हाफमा नै खेल बराबरीमा ल्यायो । ३३ औं मिनेटमा मार्कस रासफर्डले दिएको पासमा रोमेलु लुकाकुले गोल गर्दै आफ्नो गोलको खडेरी तोडे । त्यसको ६ मिनेटपछि रासफर्डले नै अर्को गोलको अवसर सिर्जना गरे । उनले ३ डिफेन्डरलाई छलाउँदै दिएको पासलाई आन्देर हरेराले सहजै गोलमा परिणत गरे ।
दोस्रो हाफमा कुनै गोल हुन नसक्दा खेल २–२ को बराबरीमा टुंगियो । यस बराबरीसँगै साउथह्याम्पटन प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा जित दर्ता गर्न एक्लो टोली पनि बनेको छ । घरेलु मैदानमा खेलेका ७ खेलमा साउथह्याम्पटनले ५ बराबरी र २ हार बेहोरेको छ ।