१८ मंसिर २०७५, काठमाडौं
नेपाली खेलाडीले आफ्नै भूमिमा खेल्न पाउने सबैभन्दा ठूलो प्रतियोगिता नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टनको तेस्रो संस्करण मंगलबार (आजबाट) सुरु हुँदै छ ।
ब्याडमिन्टन एसियाको क्यालेन्डरमा उल्लिखित नेपालमा हुने योनेक्स सनराइज सिरिज एकमात्र अन्तराष्ट्रियस्तरको प्रतियोगिता हो । सिरिजमा नेपालसहित भारत, मलेसिया, अमेरिका, जर्मनी, फ्रान्स, थाइल्यान्ड, भियतनामलगायत २० देशका खेलाडीहरुको सहभागिता रहने बताईएको छ ।
शनिबारसम्म चल्ने प्रतियोगितामा ६१ महिला र १ सय १७ पुरुष खेलाडीले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट १६ पुरुष, १३ महिला खेलाडीको सहभागिता रहनेछ । पुरुष सिंगल्समा ७७, डबल्समा ३६ जोडी, महिला सिंगल्समा ४३, डबल्समा १८ जोडी र मिक्स्ड डबल्समा ३२ जोडीको सहभागिता रहने छ । हरेक स्पर्धामा अन्तिम १६ सम्म पुग्ने खेलाडीका लागि नगद पुरस्कार व्यवस्था छ ।
पुरुष र महिला सिंगल्स विजेताले ७ सय ५० अमेरिकी डलर तथा पुरुष, महिला र मिक्स्ड डबल्सको विजेता जोडीले ७ सय ९० डलर पुरस्कार पाउनेछन् । कुल पुरस्कार राशि अघिल्लो वर्षभन्दा ३ हजार बढाएर १० हजार डलर पुर्याइएको छ ।