२० मङ्सिर २०७५, काठमाडौं
भव्य समारोहका विच १३ औं अन्तरविद्यालय फेका कप फुटबल प्रतियोगिता काडाँघारी, टाउन प्लानिङ्ग खेल मैदानमा शुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर हरिकृष्ण थापाले उद्घाटनमा फेका समूहले आयोजना गरेको कार्यक्रमले खेल क्षेत्र तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । साथै वहाँले कागेश्वरी मनोहरा भित्र रहेको नीजि विद्यालयहरुको कुनै पनि समस्या समाधान गर्न र सहयोग गर्न आफू तत्पर रहेको उल्लेख गर्दै भन्नुभयो, ‘नगरपालिका अन्तरगत रहेको शिक्षा समितिले तपाई नीजि विद्यालयका समस्या भए लिए आउनुस हामी समाधान गर्न पहल गर्छाै ।’
प्याब्सन काठमाडौंका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि हरिकृष्ण श्रेष्ठले कार्यक्रमको पुरस्कार राशि बराबरको प्रायोजन प्याब्सन काठमाडौंले गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा प्याब्सन केन्द्रीय उपाध्यक्ष डिके ढुङ्गानाले फेकाले एउटा उदाहरण प्रस्तुत गरेको जुन आफैंमा सम्मानजनक रहेको बताउनुभयो ।
उक्त कार्यक्रमका सभापति तथा फेका समूहका अध्यक्ष नवराज भट्टले कार्यक्रमको विषयमा प्रकाश पार्दै फेकाले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीलाई खेल क्षेत्रमा लाग्न प्रेरित गरेको विद्यार्थीलाई स्वस्थ्य बन्न सघाउ पुर्याउने तथा राष्ट्रको खेल क्षेत्रका लागि महत्वपूर्ण योगदान गरिरहेको बताउँदै भन्नुभयो, ‘फेका समूहले आयोजना गरेको कार्यक्रमले हामीले राष्ट्रका लागि एउटा गोल किपर दिएका छौं जुन आफैंमा महत्वपूर्ण छ ।’
राष्ट्रिय गोलकिपर डिकेश कुथु फेका समूहकै उत्पादन भएको बताउँदै आगामी दिनमा यस्ता प्रतिभाहरु अझ धेरै विकास हुनेछन् भन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा मार्चपाष्ट प्रतियोगिता गरिएको थियो । मार्चपाष्ट प्रतियोगितामा प्रथम विद्याविकास स्कूल गोठाटार, द्वितिय गोल्डेन बोल्ड स्कूल र न्यू स्टार पुल स्कूल तृतीय भएका थिए ।
कार्यक्रममा फेका समूहले नवनिर्वाचित प्याब्सन नगर कमिटीका अध्यक्ष तथा कागेश्वरी मनोहरा नगर कमिटीका पदाधिकारीहरुलाई सम्मान गरेको थियो ।
आज उद्घाटन भएको फेक कपमा पहिलो खेलमा करियर बिल्डिङ्ग स्कूलले अक्षरा स्कूललाई ६–० को भारी अन्तरले पराजित गरेको छ । प्रतियोगिताको प्रथम पुरस्कार राशी रु.२०,०००।– द्वितीय रु. १५,०००।– र तृतीय रु. १०,०००।– रहेको छ ।
प्रतियोगिता आजदेखि मङसिर २९ गतेसम्म संचालन हुने फेका उपाध्यक्ष श्रीराम दाहालले जानकारी गराउनुभयो ।
उद्घाटन कार्यक्रमको संचालन प्रदिप खनालले गर्नुभएको थियो ।