०१ पौष २०७५, काठमाडौं
नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा जारी १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।महेश्वरले पुरुष ७५ केजीमा स्वर्ण जितेका हुन् । यो स्पर्धामा १२ खेलाडी सहभागी थिए। अन्तिम प्रतिस्पर्धामा महेश्वरले भारत र सिंगापुरका खेलाडीलाई पछि पारे ।
भारत दोश्रो र सिंगापुर तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टिम गत मंगलबार थाइल्यान्डको चाङमाइ गएको थियो । पुरुष ७५ केजीमा महेश्वर महर्जन र पुरुष फिट्नेस फिजिकमा विमललाल श्रेष्ठ थाइल्यान्ड गएका थिए। टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन् । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् ।
महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए ।