नेपाली क्रिकेटरलाई सेहवाग एकेडेमीमा प्रशिक्षणको मौका



०३ पौष २०७५, काठमाडौं

नेपाली क्रिकेट टोलीका तीन क्रिकेटरले भारतको वीरेन्द्र सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन पाउने भएको छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा यु–१९ क्रिकेट टोलीका ओपनर रित गौतम र तृतराज दास तथा भुपेन्द्रराज उप्रेतीले उक्त एकेडेमीमा १ महिना प्रशिक्षण गर्ने फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले बताए ।

सो एकेडेमी भारतका पूर्व ओपनर वीरेन्द्र सेहवागले स्थापना गरेका हुन् । तीनैजनालाई एकेडेमीले छात्रवृत्ति प्रदान गरेको हो । एकेडेमीमा बिसिसिआईका दक्ष प्रशिक्षकले प्रशिक्षण दिनेछन् । छात्रवृत्तिका लागि सुशील कोइराला मेमोरियल फाउन्डेसनले समन्वय गरेको हो । रित र तृतराजले यु–१६ टोलीमा राम्रो प्रदर्शन गरेका करण छनोट गरिएको हो भने भुपेन्द्रराजलाई निम्नवर्गीय परिवारबाट छनोट गरिएको यु–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए ।

“नेपालमा अहिले उमेर समूहमा प्रतियोगिताहरू नै भएका छैनन् । यस्तो अवस्थामा हाम्रा खेलाडीहरूले खेल्न पाउनु पनि ठूलो कुरा भैसकेको छ,” दासले भने, “उनीहरूले त्यहाँ प्रशिक्षण गर्दा अन्ततः नेपाली क्रिकेटलाई नै फाइदा हुन्छ । प्रशिक्षण ब्याटिङमा केन्द्रित हुन्छ ।”
नेपाली खेलाडीहरू बिहीवार भरत प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्