प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता सम्पन्न



०३ पुस २०७५, भरतपुर

प्रचण्डपुत्र स्व. प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता चितवनको भरतपुरमा सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं ३ का सांसद एवम् शिक्षास्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहालले गरेका थिए । प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री दाहालले खेलकुदको क्षेत्रबाट व्यक्तिको साथै राष्ट्रको नाम उच्च राख्न मद्दत पुग्ने बताए ।

सो प्रतियोगितामा देशभरका मुवाथाई क्लबहरुका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा महिलातर्फ ४७ देखि ५० केजी तौल समूहमा काभ्रे मुवाथाईकी शर्मिला तामाङ्गले चितवन अलमार्सल आर्टस्की प्रिति रायलाई नकआउटमा हराईन् । त्यस्तै ५० देखि ५४ केजी तौल समूहमा एमए मोवाथाई कोटेश्वर क्लबकी दिक्षा थापाले चितवनकी नतिसा रानामगरलाई पराजित गरेकी थिईन् ।

त्यसैगरि ५७ देखि ६० तौल समूहमा शेर्पा म्याक्स मुवाथाई क्लबकी प्रमिला तामाङले केन्द्रीय मुवाथाई क्लबकी प्रियङ्का कमताडलाई हराएकी थिईन् भने ५५ देखि ५८ केजी तौल समूहकी शेर्पा म्याक्स मुवाथाई क्लबकी विद्या गुरुगले एपिएफ क्लबकी अञ्जली श्रेष्ठलाई हराईन् ।

त्यस्तै आजै भएको खेलमा पुरुषतर्फ ४८ केजी तौल समूहमा शेर्पा म्याक्स मुवाथाई क्लबका प्रदीप तामाङले भक्तपुर मुवाथाई क्लबमा भिम्पा तामाङलाई हराए । ५१ देखि ५३ केजी तौल समूहमा चितवन अल मार्सल आर्टस् क्लबका शनिल चौधरीले भक्तपुर मुवाथाई क्लबका नविस कार्की र ललितपुरका कविन देसारलाई पराजित गरेका थिए भने ५७ देखि ६० केजी तौल समूहमा जिमखाना मुवाथाई क्लब काभ्रेका राजु राईलाई काभ्रेकै सुवास लिम्बूलाई हराए ।

६५ देखि ७० केजी तौल समूहमा काभ्रेका सचिन्द्र रंजितले रेज फिटनेसका ज्ञानदीप मल्ललाई हराई गोल्डमेडल हात पारे । ७० देखि ७५ केजी तौल समूहमा केन्द्रीय मुवाथाई क्लबका विजय लामाले केन्द्रिय मुवाथाई क्लबका रसिप जारीलाई हराई गोल्डमेडल आफ्नो पक्षमा पारे ।

चितवनमा रहेको अल मार्सल आर्ट एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा देशभरीका २४ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । आठ जना महिला तथा १६ जना पुरुष खेलाडी सहभागी रहेको प्रतियोगितामा १२ वटा फाइट गराईएको अल मार्सल आर्ट एकेडेमीका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए । तौल समूहमा खेलाइएको प्रतियोगिताको विजेताले नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङको भनाइ छ ।

मुवाथाई प्रतियोगताको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपति, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का अध्यक्ष नारायण दाहाललगायतका अतिथिहरु सेवेनस्टार होटलका सञ्चालक एवम् पुरस्कारदाता माधव दवाडी, सिभिल बैंकका शाखा प्रमुख उपेन्द्र दाहाल, सोही ऐकेडेमीकी सल्लाहकार सबिता लामा, संरक्षक ईश्वर सापकोटा, संगिता भट्राई, जिल्ला खेलकुदका विभिन्न संघका पदाधिकारीहरु टार्जन श्रेष्ठ, जंगबहादुर थिङ, कृष्ण कुमाल, डिलकुमारी नेपाल एवम् पत्रकार प्रकाश ज्ञवाली समेतको उपस्थिति रहेको थियो ।

स्व. प्रककाश दाहाल स्मृति दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता उत्तम गुरुङगको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्