एभरेष्ट प्रिमियर लिग : इलिमिनेटरमा चितवन टाइगर्सद्वारा भैरहवा ग्लाडियटर्सलाई १४० रनको लक्ष्य



०४ पौष २०७५, काठमाडौं

दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित चितवन टाइगर्सले बुधबार एभरेष्ट प्रिमियर लिगको इलिमिनेटरमा भैरहवा ग्लाडियटर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो ।

दीपेन्द्रसिंहले ४५ बलमा १ छक्का र ६ चौकासहित ५६ रन बनाए । यससँगै दीपेन्द्रसिंह ईपिएलमा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । दीपेन्द्रसिंहले २ सय ३१ रन बनाएका हुन् । शीर्ष स्थानमा २ सय ७३ रन बनाएका भैरहवाका रवि इन्दर सिंह छन् । चितवनका ओपनरले राम्रो सुरुआत दिन नसके पनि दीपेन्द्रले टोलीको इनिङ उकासेका थिए ।

चितवनको अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो सुरुआत गर्न सकेनन् । ओपनर पाउल स्टर्लिङ १४ रन बनाएर आउट हुँदा सन्दीप सुनार ४ र पृथु बास्कोटा शून्यमा आउट भए । ४।३ ओभरमा पृथु आउट हुँदा चितवन ३–२४ को स्थितिमा थियो । जोन सिम्पसन र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ३१ रनको साझेदारी गर्दै चितवनको इनिङको उकास्ने प्रयास गरेका थिए ।

सिम्पसन २ चौकासहित १४ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले भिम सार्कीसँग पाँचौं विकेटका लागि २० रनको साझेदारी गरे । दीपेन्द्रले जर्ज स्कटसँग छैटौं विकेटका लागि २० तथा कमलसिंह ऐरीसँग सातौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । दीपेन्द्रलाई मोहम्मद नाभीदले कृष्ण कार्कीमार्फत् क्याच गराएका थिए । कमलसिंहले १३ रन बनाए ।

भैरहवाका नाभीदले ३ विकेट लिँदा अभिनास बोहराले २ विकेट लिए । रायन टेन डोसचट, कृष्ण कार्की र भुवन कार्कीको नाममा १–१ विकेट रह्यो । विजयी टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स ११ विरुद्ध फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्