०४ पुस २०७५, काठमाडौं
काठमाडौं प्याब्सन जिल्ला सहसचिव तथा डिनका सचिव एवम् नेपाल सेन्ट्रल हाईस्कुलका संस्थापक प्रिन्सीपल सूर्य बहादुर भण्डारीको जन्म २०२८ साल पुस महिना २१ गते ताप्लेजुङ जिल्लाको साविक मेहेले गा.वि.स वडा नं.३ हालको सृजङ्गा गाउँपालिकामा माता ओम माया भण्डारी तथा पिता लिला प्रसाद भण्डारीको कोखबाट भएको हो ।
सानैदेखि पढाई प्रती जिज्ञासु र मेहनती व्यक्तित्व भण्डारीको प्रारम्भिक शिक्षा निलगिरी मेहेले स्थित मा.वि.भएको हो । उहाँले निलगिरी मा.वि.मा कक्षा ५ सम्म अध्ययन गर्नु भएको हो र राष्ट्रिय नि.मा.वि. पेदाङबाट कक्षा ७ पास गरेँ । त्यसपछि उहाँको परिवार इलाममा बसाईँ सर्याे र इलामको आदर्श मा.वी बाट एसएलसी सम्मको पढाई पुरा गर्नुभयो । पढाईका सिलसिलामा २०४७ सालमा उहाँ काठमाण्डौ प्रवेश गर्नुभयो । उच्च शिक्षा हासिल गर्ने क्रममा आइए.विए आरआर क्याम्पसबाट मास्टर्स (एमए) त्रिचन्द्र कलेजबाट गर्नुभएको छ । नेपाली र अङग्रेजीमा विए विएड गर्नु भएको छ । सरल व्यवहार मिलनसार व्यक्तित्व र सामाजिक सेवाका काममा तल्लिन रहने सुर्य बहादुर भण्डारी विभिन्न शैक्षिक गतिविधिहरुमा संलग्न भइरहेको नाम हो । उहाँ डिन अर्थात डाइनामिक एजुकेशनल एक्टिभिटीज एशोसिएसन नेपालका सचिव तथा निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन काठमाण्डौ जिल्ला कार्य समितीका सहसचिव रहनु भएको छ ।
हामीले उहाँलाई एउटै सोच एउटै चिन्तन एकै प्रकारको लगानी र एकै प्रकारको उद्देश्य भएर पनि प्याब्सन, एन प्याब्सन किन एक हुने विषयमा सोच्नु भएको छैन भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो । “छलफल सुरु हुँदैछ विभिन्न समयमा बहस भइरहेको छ । प्याब्सन, एन प्याब्सन छिटै एकीकरण हुनेछ भन्ने आशय व्यक्त गर्नु हुने सूर्य भण्डारीसँग विश्व आचार्यले गर्नु भएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
विश्व आचार्य : तपाइँको शिक्षण क्षेत्रनै किन आकर्षण ? किन यही क्षेत्रलाई रोज्नु भयो ? अथवा तपाइँको पढाउने इच्छा हो या शिक्षक बन्ने रहर भएर अध्यापन गराउन थाल्नु भयो ? अवसर त अन्य क्षेत्रमा पनि थिएँ होलान नि हैन ?
सूर्य भण्डारी : हो अवसरहरु थिए तर पनि म यही क्षेत्रमा आए मलाई मेरो शिक्षक बन्ने रहर थियो पढाउने रहर थियो । म सानैमा सरहरुले पढाएको ध्यान दिएर सुन्थे । सरहरुले पढाएको सुन्दा खेरी आफूलाई पनि शिक्षक बन्ने रहर लाग्थ्यो । त्यस बेला भाई बहिनीहरुलाई पढाउन सिकाउनु त कर्तव्य नै हुन्थ्यो तर पनि म चै शिक्षक भएको अनुभवमा बच्चा बच्चीलाई सिकाउथे जव म कक्षा ८ मा इलाम आदर्श मा.वी. भर्ना भएपछि त्यो कक्षामा हामी १७० जना विद्यार्थी थियौं ।
१७० जना विद्यार्थीहरु मध्येमा झण्डै १५० जना विद्यार्थीहरु अङग्रेजीमा अत्यन्त कमजोर थिए । मलाई अङग्रेजी राम्रो सँग आउथ्यो टिफिन भएपछि साथीहरु खेल्न जान्थे र म तिनै १५० जना कमजोर विद्यार्थीहरुलाई पढाउथेँ । म जुन कक्षामा पुढ्थे त्यही कक्षाका विद्यार्थीहरुलाई पढाउथेँ । मलाई सरहरुले पनि पढ्न लगाउने हुनाले म धेरै उत्साहीत भए मैैले यसरी नै पढाउन थाले । काठमाडौं आएपछि पनि मैले पढाउने भन्दा अरु काम गरिन् । आइए पढ्दा पनि मैले मेरा कक्षाका साथीहरुलाई पढउथे । म फेरी कलेज नै नगईकन पढ्थे आइए पढ्न कलेज गए वि.ए.पढ्दा कलेज गइएन नगइकनै पढियो । यसरी विभिन्न ट्रेन बढदै गयो पढाउने सन्दर्भमा ।
विश्व आचार्य : जिन्दगीको एउटा महत्वपूर्ण समय शिक्षा क्षेत्रमा विताउनु भयो । कस्ता कस्ता विद्यार्थीहरु उत्पादन भए यो समयसम्म आईपुग्दा ?
सूर्य भण्डारी : मैले पढाएका विद्यार्थीहरु थुप्रै छन् । धेरै जना विद्यार्थीहरुले मलाई सम्झीरहन्छन् कतिपय साथीहरु विदेशमा अध्यनरत तथा कार्यरत छन् । कोही डाक्टर कोही इन्जीनीयर बनीसकेको छन् । थुप्रैका सङख्याामा नर्श बनी सकेका छन् । कसैले विद्यालय सञ्चालन गरिरहेका छन् । मलाई लाग्यो कि यो पेशा पनि राम्रै रहेछ ठिकै रहेछ भन्ने लाग्यो । आफूले पढाएका विद्यार्थीहरुले आफ्नै विद्यार्थीको मुखबाट मैले यस्तो काम गर्दै छु सर भनेर भन्दा त्यो जत्तिको खुसी एउटा शिक्षकलाई अरु केही पनि हुँदा रहेनछ । मनै देखी खुसी लागेर आउने । मैले पढाएका बिद्यार्थीहरु विभिन्न व्यवसायमा पनि सफलता हासिल गरेको देख्दा चाही यो पेशा वास्तवमै राम्रो पेशा रहेछ । म एकदमै सन्तुष्ट छु । शिक्षक बन्न पाएकोमा म गर्व गर्छु ।
विश्व आचार्य : तपाइँ यती मेहनती व्यक्ति तपाइँलाई कहिले काही यो पेशा नअङगाली अर्कै पेशा अङगालेको भए म अझ माथी जान सक्थे भन्ने पीडा महशुस हुन्न ?
सूर्य भण्डारी : खासै त्यस्तो पिडा त महशुस भएको छैन तर एकपटक लोकसेवा दिएर अधिकृत बन्ने चाहाना थियो तर सफल नभए पछि आफ्नै तरिकाले जीवनलाई सार्थक र सफल बनाउन लागियो आफुलेनै केही गर्ने सोचमा अगाडी बड्ने क्रम सगं सगैँ निजी विद्यालयको स्थापना गरियो पढ्ने र पढाउने दैनिकीले गर्दा विद्यालय सञ्चालनको रुप लियो आज जुन पेशा र व्यवसायमा लागेर भोलीका कर्णधार वालवालिकाहरुको भविष्य निर्माण गर्ने कार्यमा अहोरात्र खटी रहदा पनि रमाइलो नै महशुस भएको छ । यो राम्रै पेशा अपनाएको राम्रो महशुस भएको छ ।
विश्व आचार्य : प्याब्सनमा सक्रियरुपमा कहिले देखी लाग्नु भयो ?
सूर्य भण्डारी : म प्याब्सनमा सक्रिय रुपमा लागेको २०६८ साल देखी हो । जतिबेला गोपाल आचार्य सरको अध्यक्षतामा काठमाडौं प्याब्सन अगाडी बढेको थियो । उहाँको प्रेरणाले प्याब्सन काठमाडौंको सदस्यमा अगाडी बड्ने मौका मिल्यो । २०७० सालमा पुन सदस्य र सचिवालय सदस्य हुंदै २०७२ सालको प्याब्सनको अधिवेशनबाट सह सचिवमा निर्वाचित भइ हाल सम्म यही पदमा छु । गोपाल आचार्य, थकिन कुमार गुरुङ् र हरिकृष्ण श्रेष्ठ जस्ता प्रभावशाली अध्यक्ष ज्युहरु सँग काठमाडौं प्याब्सनमा काम गर्ने अवसर मिलेको थियो । खास गरेर प्याब्सनले निजी लगानीमा सन्चालित सम्पुर्ण विद्यालयहरुको हकहित र संस्थागत विकासमा राज्य सँग सहकार्य गर्दै निजी स्तरबाट सन्चालीत शैक्षिक संस्थाहरुले शिक्षा विकासमा गरेको लगानी र समाजले पाएको प्रतिफल प्रती राज्यलाई वोध गराउंदै सामुदायिक र निजी विद्यालय वीचमा रहेको विवेधकारी निती हटाउनु नै प्याब्सनको कर्तव्य हुन आएको छ ।
विश्व आचार्य : तपाइँहरु प्याब्सन एन प्याब्सन भएर कहिले सम्म रहनु हुन्छ ? प्याब्सन र एन प्याब्सन विचमा एकिकरण सम्भव छैन ?
सूर्य भण्डारी : प्याब्सन, एन प्याब्सन एकिकरण हुन्छ तपाइँ हेर्नुस फरक-फरक धार विचार व्यवहारबाट निर्माण भएका एउटाले अर्कालाई शत्रुवत व्यवहार गर्ने नेपालका कम्युनिस्ट पार्टीहरु समेत एक भए भने हामीहरु त एउटै प्रकारको लागानी एउटै प्रकारको उद्देश्य लिएर स्थापित भएका संस्थाहरु अलग अलग रहने भन्ने कुरा हैन् । मलाई लागेको कुरा कुनै स्कुल ठुला होलान कुनै मझौला र कुनै साना होलान कसैको लागानी फरक होला कसैको स्वार्थ नमिल्न सक्ला त्यसले पो केही काम गरेको छ की भन्ने लाग्छ मलाई ।
वास्तवमा प्याब्सन र एन प्याब्सन दुई वटै नीजी तथा आवाशिय विद्यालयहरुका छाता सँगठन हुन् यिनीहरुको भूमिका काम र उद्देश्य भनेकै नीजि लगानीमा संन्चालित शैक्षिक संस्थाहरुको संरक्षण सम्बर्धन संस्थागत विकास र शैक्षिक समृद्धीमा लागि पर्नु नै हो ।
आज राज्यले समग्र शिक्षा क्षेत्रमा गरेको लगानीलाई हेर्दा त्यसको प्रतिफल निरासा जनक छ जहाँ नीजि क्षेत्रले शिक्षा क्षेत्रमा गरेको लगानी र प्रतिफल आशालाग्दो छ । नीजि विद्यालयहरुबाट उतिर्ण भएमा विद्यार्थीहरुले नै विश्व बजारमा गएर प्रतिस्पर्धा गरेको छन् र बिभिन्न सघं संस्था वा ब्यवसायमा समेत सफल पनि भएमा छन् त्यसकारणले प्याब्सन र एन प्याब्सन जस्ता छाता सँगठनहरु एकीकरण हुनु आवश्यक छ । प्याब्सन जस्तो एउटै उद्देश्य बोकेका यि छाता सँगठन समग्र नीजि शिक्षा क्षेत्रलाई सक्षम नेतृत्व प्रदान गर्न पनि एक हुनुपर्छ र यो समयको माग पनि हुनेछ । भिन्न भिन्न मोर्चामा आवद्ध भएका राष्ट्रिय पार्टीहरु समेत राष्ट्रको समृद्धि तर्फ लागेको अवस्थामा किन प्याब्सन र एन प्याब्सन एक नहुने र राष्ट्रको समग्र शैक्षिक विकासमा किन अगाडि नबढ्ने ।
अन्तिममा गएर निजी विद्यालयको संस्था एउटै हुन्छ । किनकी अबको समय भनेको विभाजन हुने समय हैन । एकता वद्ध भएर जाने समय हो, त्यसकारण मैले भन्न खोजेको जसरी हामी लागि राखेको छौ छलफलका क्रममा साथी भाइका सर्कल विचमा प्याब्सन,एन प्याब्सन एक हुनुपर्छ भनेर छलफल भईरहेका छन् । मैले मेरो कोणबाट पनि साथीहरुसँग कुराकानी चलाउने पक्षमा सधै लागि रहेको छु । हामी एकतावद्ध भएर मात्र निजी तथा आवासिय विद्यालयको अस्तित्वको सन्दर्भमा आवाज उठाउन सजिलो हुन्छ । त्यसकारण हरेक कोणले प्याब्सन,एन प्याब्सन एक हुन सम्भव छ । म त्यो देख्छु एकदिन दुइटै संस्था एउटै हुन्छन म यसमा पूर्ण विश्वस्त छु ।
विश्व आचार्य : शिक्षण सिकाई प्रक्रिया कस्तो हुनुपर्छ ?
सूर्य भण्डारी : सरल व्यावहारिक र वैज्ञानिक पद्धतीको हुनुपर्छ । नेपाल वहुधार्मिक, वहुसांस्कृतिक वहुभाषिक र वहुजातिय मुलुक भएको हुनाले शिक्षा समावेशी हुनुका साथै यहाँको वातावरण परिस्थीति अनुसार जिवन उपयोगी शिक्षाको सुरुवात गर्नुपर्छ । देश हिमाल,पहाड र तराईले ढाकिएको प्रचुर मात्रामा वनस्पती,जडिबुटीका साथै रमाईला प्राकृतिक मनमोहक दृश्य अवलोकन हुने हुंदा हाम्रो विद्यालय शिक्षामा नै परिवर्तन गरी ट्राभल टुरीजम हस्पीटालिटी, औषधी विज्ञान कृषि वातावरण पर्यटन जस्ता विषय समेटेर फराकिलो सोचका साथ पाठ्यपुस्तक निर्माण तथा अध्ययन अध्यापन गराउनुपर्छ । हाम्रो परम्परागत शिक्षामा आधुनिकीकरणका साथ विदेशबाट आयातित शिक्षालाई हाम्रो देश र माटो सुहाउँदो शिक्षा पस्कन जरुरी छ । विशेष गरेर नैतिक शिक्षामा बढि जोड विद्यालयबाट सुरु गर्नुपर्छ । अहिले देखा परेको विभिन्न विकृतीलाई अन्त्य गर्दै नयाँ प्रवृत्तिलाई पनि आत्म साथ गर्दै अनुशाशित मर्यादित र जिम्मेवार व्यक्तित्व निर्माणमा विद्यालय शिक्षामा महत्वपूर्ण परिवर्तन गर्नुपर्छ ।।
शिक्षण सिकाई प्रक्रिया व्यवहारिक हुनुपर्छ । नेपाल एउटा वहुधार्मिक वहुसास्कृतिंक देश भएको हुनाले यहाँको शिक्षा पनि अन्य देशको कपी गरेको खालको भन्दा पनि यही देशको समाजसंस्कृती र यहाँको भाषा संस्कृती सँग मिल्दो जुल्दो किसीमको हुनु पर्छ भन्ने लाग्छ । नेपालको सन्दर्भमा शिक्षा यहाँको हावापानी यहाँको माटो सुहाँउदो व्यवहारिक समय सापेक्ष हुनुपर्छ । नेपाल देश कृषि प्रधान देश भएको कारणले त्यस्तै प्रकारको व्यवहारिक शिक्षण सिकाई हुनु पर्छ भन्ने मलाई लाग्छ । गणित विज्ञान। साथ साथै जीवन उपयोगी शिक्षा र प्राविधिक शिक्षा दिनुपर्छ जस्तो लाग्छ ।
विश्व आचार्य : तपाइँले काठमाण्डौ आएर संघर्ष गर्ने क्रममा कतीको व्यवधानहरु उत्पन्न भए संघर्ष कतीको गर्नुभयो ?
सूर्य आचार्य : अहिलेको जस्तो सजिलै सहज तरिकाले त्यो वेला पैसा कमाउन सकिने अवस्था पनि थिएन । काठमाण्डौमा विहान वेलुका लाउन, खाना ,कोठा बहाल तीर्न गाह्रो हुन्थ्यो । कलेज पनि पढ्नु पर्ने दुईवटा कुरा सङगै गर्नुपर्ने भएकोले पनि समस्या थियो तर जती समस्यामा मान्छे पर्छ त्यती नै प्रगती पनि हुदो रहेछ् । अहिलेको काठमाण्डौ र २०/२५ वर्ष अगाडीको काठमाण्डौमा धेरै अन्तर थियो । त्यतिखेर बोर्डिङ्ग स्कुल पनि थोरै कम मात्रामा थिए शिक्षण पेशा पाउन पनि गाह्रो थियो ।
विश्व आचार्य : अन्त्यमा तपाइँले अभिभावकहरुलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ ?
सूर्य भण्डारी : राम्रो मान्छे बन्नका लागि सबभन्दा पहिलो कस्तो संस्कारबाट आएको छ भन्ने कुराले प्रभाव पार्दछ । मानिसको जीवनलाई गति दिन, पारिवारीक शिक्षाको महत्वपूर्ण स्थान हुन्छ । परिवार समाज छ र छिमेक हुँदै विद्यालयले नै वालवालिकाहरुको संस्कार र शिक्षामा भूमिका खेलेको हुन्छ । त्यसैले हामी अत्यन्त गहन भएर वालवालिकाहरुका हरेक क्रियाकलापसँग जानकार हुन् जरुरी छ । असल मानिसको परिकल्पना गर्दा राम्रा कुराहरु विशेष गरी संस्कार सहितको शिक्षाको शुरुवात हुनुपर्छ । विद्यालय र अभिभावक विचमा वालवालिकाहरुका हरेक क्रियाकलाप र दिनचर्यासँग छलफल हुनुपर्छ इमान्दारीता, कर्तव्यपरायन्ता र चरित्रवान हुनको लागि संघर्ष र त्याग गर्ने बानीको सुरुवात विद्यालयबाट शुरुवात गराउनुपर्छ । कडा अनुशासनमा बाधिँएर संघर्ष र परिश्रम गर्न कहिल्यै पछाडी पर्नु हुँदैन भन्ने आचरणको विकास गर्न सके मात्र हामी जिम्मेवार शिक्षक र अभिभावक बन्न सक्दछौ । हामीले आफैलाई उदारहणको रुपमा भन्नुपर्दा हामीले परिवारमा राम्रो संस्कार नसिकेको भए राम्रो व्यवहार नसिकेको भए आज हामी संघर्ष गरेर यहाँ सम्म आइपुग्न सक्दैन थियौ । संघर्ष गर्न नसिकेको भए जीवनबाट हारेर थाकेर हामी त्यतीकै मात्रामा बसिरहेको हुन्थ्यौं होला । गाउँ फर्किएर हलो जोत्ने वातावरण सिर्जना पक्कै हुन्थ्यो होला । संघर्ष गर्नुपर्छ भन्ने संस्कार परिवारबाट सिकियो, त्यही संस्कार बोकेर काठमाण्डौ आइयो संघर्ष सँग कहिल्यै डराइएन । परिश्रम, इमान्दारीता सबै प्रकारका संस्कार परिवारबाट सिकाउनुपर्छ । तपाइँका नानी बाबुहरुलाई संघर्ष गर्न सक्ने नैतिक, इमान्दार र चरित्रवान बनाउने संस्कार सिकाउनुस्। पढाईको महत्व बुझाउनुहोस भन्ने सुझाव दिन चाहन्छु ।