एभरेस्ट प्रिमियर लिग : काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्लाडियटर्स फाइनलमा



०५ पौष २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा भैरहवा ग्वाडियर्सले फाइनलमा प्रवेश गरेको छ । रायन टेन डेसचटको ४५ रन तथा कुशल मल्लको तीन विकेटप्रेरित भैरहवा ग्लाडियटर्सले बिहीवार काठमाडौं किंग्स ११ लाई ६ विकेटले हराउँदै एभरेस्ट प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं किङ्स ११ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय रन बनाएको थियो । १ सय १ रनको लक्ष्य भैरहवाले ४ विकेट गुमाएर १७ ओभरमा पूरा गरेको थियो ।

भैरहवाले सुरूमै ओपनर प्रदीप ऐरी र आरिफ शेखलाई गुमाए पनि अन्य ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरे । डेसचट र रबि इन्दर सिंहले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गर्दै भैरहवालाई जिततर्फ डोर्याएका थिए । डेसचटले ३८ बलमा ५ चौकासहित ४५ रन बनाए । १९ बल खेलेका रबि इन्दरले ३ चौका र १ छक्कासहित ३१ रन बनाए । त्यसपछि कप्तान शरद र रोहितकुमार पौडेलले भैरहवालाई ६ विकेटको जित दिलाए । शरद ६ र रोहितकुमार ९ रनमा अविजित रहे ।

काठमाडौंका सामसद शेखले २ तथा प्रदीप साहुले १ विकेट लिए । त्यसअघि कप्तान रोहन मुस्तफा र अमित श्रेष्ठले पहिलो विकेटका लागि २४ रनको साझेदारी गर्दै काठमाडौंलाई राम्रो सुरूवात दिने प्रयास गरेका थिए । छैटौं ओभरमा शरदले रोहन मुस्तफालाई आउट गरेपछि काठमाडौंले लगातार अर्को दुई विकेट गुमायो । रोहनले ६ रनमात्र जोड्न सके । कुशल मल्लले नरेश बुढायर ९२० लाई बोल्ड गरे भने केभिन ओुब्राइन ९०० लाई आरिफ शेखमार्फत क्याच गरे । १३ रन बनाएका ओपनर अमित श्रेष्ठ पनि कुशलको बलमा रोहितकुमार पौडेलको हातबाट क्याच भए ।

त्यसपछि प्रदीप साहु र सन्दीप रजाइलीले पाँचौं विकेटका लागि ३३ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ उकास्ने प्रयास गरे । २२ बलमा ३ चौकासहित २५ रन बनाएका प्रदीप साहु आउट भएपछि काठमाडौंको रनको गति धिमा भएको थियो । सोमपाल कामी पनि ८ बलमा ७ रन बनाएर आउट भए । लगत्तै २६ बलमा १ चौका र १ छक्कासहित २७ रन बनाएका सन्दीप रन आउट भए । राजु रिजाल मोहम्मद नाभीदको बलमा बोल्ड भए । जितेन्द्र मुखिया रन आउट भए भने सामसद शेखलाई नाभीदले प्रदीप एरिको हातबाट क्याच गरे ।

भैरहवाका कुशलले ३ विकेट लिंदा शरद र अभिनाष बोहराको नाममा १–१ विकेट रह्यो । नाभीदले २ विकेट लिए । आजको खेलको विजेताले फाइनलमा ललितपुरसँग शनिबार त्रिवि मैदानमै खेल्नेछ । ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्