०६ पौष २०७५, काठमाडौं
म्यानचेस्टर सिटी इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता सिटी बुधबार बिहान खेलिएको खेलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो । खेल सुरु भएको १४औं मिनेटमै केभिन डी ब्रुनले सिटीलाई अग्रता दिलाएका थिए । डी ब्रुनले जारी सिजनमा सिटीका लागि गरेको यो पहिलो गोल हो ।
पहिलो हाफमा निराशाजनक प्रदर्शन गरेको लेस्टरले ७३औं मिनेटमा जवाफी गोल फर्काएको थियो । सिटी जिततर्फ अग्रसर रहँदा लेस्टरका लागि मार्क अलब्राइटनले जवाफी गोल फर्काएका थिए । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले जारी सिजनको घरेलु लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
प्रिमियर लिगमा सहभागी सबै टोलीले १७ खेल खेलिसक्दा सिटी ४४ अंकसहित दोस्रो र लिभरपुल ४५ अंकसहित पहिलो स्थानमा छन् । ‘लेस्टर सिटी बलियो प्रतिद्वन्द्वी हो । आज पनि लेस्टरले अन्तिम समयसम्म हामीलाई गतिलो चुनौती दियो’, खेलपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने ।
लिग कप फुटबलको पछिल्ला नौ पेनाल्टी सुटआउटमध्ये पाँच खेलमा लेस्टर पराजित भएको छ । यसैगरी बुर्टन अल्बियोन पनि लिग कपको सेमिफाइनलमा पुग्न सफल भयो । बुर्टनले बुधबार बिहान खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी मिडल्सब्रोलाई १–० गोलले हरायो। बुर्टनका लागि ४८औं मिनेटमा ज्याक हेस्केथले निर्णायक गोल गरेका थिए ।