०६ पौष २०७५, काठमाडौं
अष्ट्रेलियामा सुरु भएको बिग बाश क्रिकेट लिगको डेब्यु खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । जारी खेलमा सन्दीपले एकै ओभरमा दुई विकेट लिएका हुन् ।
मेलबर्न स्टार्सका सन्दीपले सिड्नी थन्डरका कप्तानसहित दुई भेट्रान खेलाडीलाई पवेलियन फर्काएका हुन् । उनले व्यक्तिगत पहिलो ओभरमा नै दुई विकेट लिएका हुन् । खेलको आठौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमा कप्तान शेन वाट्सन र अन्तिम बलमा क्यालुम फर्गुशनलाई आउट गरेका हुन् । सन्दीपको बलमा शेन वाट्सन २२ रनमा क्याच आउट भए भने फर्गुशन १५ रन बोल्ड आउट भए । उनले पहिलो ओभरमा तीन रन मात्रै खर्चेर दुई विकेट लिएका थिए ।
सन्दीपले चार ओभरमा दुई विकेट लिएर ३६ रन दिएका थिए । सन्दीपले खेलिरहेको टीम मेलवर्न स्टार्सलाई सिड्नी थन्डरले १८१ रनको लक्ष्य दिएको छ । सिड्नी थन्डरले ५ विकेट गुमाएर उक्त लक्ष्य प्रस्तुत गरेको हो। खेल वर्षाका कारण रोकिएको छ ।