एभरेष्ट प्रिमियर लिग : प्याट्रीयटसले भैरहवालाई दियो १५६ रनको लक्ष्य



०७ पौष २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिगको फाइनल खेलमा ललितपुर प्याट्रीयटसले भैरहवा ग्लाडियटर्सलाई १५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको लालितपुरले १९.१ ओभरमा सबै विकेट गुमाउदै १५५ रन बनाएको हो ।

ललितपुरले राम्रो सुरुवात गर्दै लागि ४१ रनको साझेदारी गरेको थियो । ललितपुरका लागि भारतीय खेलाडी गौरव तोमार २३ रनको निजी रनमा आउट भएका थिए । ललितपुरका भारतीय खेलाडी जयकिसन कोलसावालाले उत्कृष्ट ब्याटिंग गर्दै ५७ रन बनाएका थिए । कोलसवालाले ५१ बल खेल्दै ३ छक्का र ३ चौकाको मद्धतले ५७ रन बनाएका थिए ।

तोमार आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल १० रन बनाएर आउट भएका थिए । त्यसपछि आएका पवन सराफ दुर्भाग्यपूर्ण रुपमा ५ रन बनाएर बलर अविनाश बोहोराबाट रन आउट भएका थिए । त्यसपछि क्रिजमा आएका सन्दीप जोराले केहि उत्कृष्ट शट खेल्दै ११ बलमा २४ रन बनाएर आउट भएका थिए। सन्दीपले २ छक्का र एक चौका हानेका थिए ।

भारतीय बलर सन्नी पटेल भने केवल एक रन बनाएर आउट भएका थिए । ललितपुरका लागि कुशल भुर्तेलले ११ रन, सोनु तामांगले २ रन र रसिद खान शुन्यमा आउट भएका थिए । त्यस्तै भैरहवाका बलर कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिएका थिए ।

कृष्णले कोलसवाला, पटेल र भुर्तेलको विकेट लिएका थिए । त्यस्तै मोहमद नावीद र रायन टेन डोएसचेटले २–२ विकेट लिएका थिए भने शरद भेस्वाकर, भुवन कार्कीले एक एक विकेट लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्