१० पौष २०७५, काठमाडौं
अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अष्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन् । क्रिकेट अष्ट्रेलियाले आईतबार भारतविरुद्धको तेस्रो टेस्टमा ती सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि विश्वभर यसको चर्चा चुलिएको छ ।
अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट आगामी बुधबार मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदै छ । त्यही टेस्टमा सात वर्षीय बालक आर्ची चिलरले कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन् ।
क्रिसमसको भोलिपल्टै सुरु हुने ‘बक्सिङ डे’ टेस्टमा भारतीय टोलीको नेतृत्व भने विराट कोहलीले नै गर्नेछन् । क्रिकेट अष्ट्रेलियाको यो घोषणापछि आर्ची अहिले विश्वभरका सञ्चारमाध्यममा मजैले छाएका छन् । अष्ट्रेलियन टोलीका नियमित कप्तान पाइनले पनि यो समाचारको पुष्टि गरिसकेका छन् ।
वास्तवमा आर्ची सानै उमेरदेखि मुटु रोगबाट पीडित छन् । थुप्रै पटक उनको मुटुको गम्भीर शल्यक्रिया समेत भइसकेको छ । आर्ची केवल तीन महिनाको हुँदा चिकित्सकले उनको मुटुको भल्बमा समस्या रहेको पत्ता लगाएका थिए । त्यसपछि सात घण्टा लगाएर आर्चीको मुटुको शल्यक्रिया गरिएको थियो ।
त्यसको ६ महिनापछि आर्चीको मुटुको धडकनमा पुनः समस्या देखियो र उनले लामो समय अस्पतालको शड्ढयामा बिताए । पछिल्लो पटक सन् २०१७ को डिसेम्बरमा आर्चीको ओपन हार्ट सर्जरी गरिएको थियो । त्यतिबेला चिकित्सकहरूले आर्चीको आमा–बुवालाई शल्यक्रियाको नतिजा दुःखद पनि आउन सक्ने संकेत दिएका थिए ।
आफ्नो छोराले सानै उमेरदेखि भोगेको कष्टका कारण आर्चीका आमा–बुवा पनि मर्माहत छन् । पछिल्लो पटक शल्यक्रिया गर्नुअघि चिकित्सकले हामीलाई जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहन सुझाव दिएका थिए । आर्ची क्रिकेट भनेपछि हुरुक्कै हुन्छन् । तर, मुटुको गम्भीर समस्याका कारण क्रिकेट खेल्ने उनको सपना भने पूरा हुन सक्दैन ।
उनी आफ्नै साथीहरूसँग पनि लामो समय खेल्न वा दौडन सक्दैनन् । केही समयअघि आर्चीका पिताले उनको सपनाबारे सोधेका थिए । त्यतिबेला आर्चीले कप्तानका रूपमा अष्ट्रेलियन क्रिकेट टोलीको नेतृत्व गर्नु आफ्नो सपना भएको बताएका थिए । उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आईरहेका छन् ।
यसपछि आर्चीलाई अष्ट्रेलियन टोलीको कप्तान बनाउन लागिएको बताईएको छ । क्रिकेट अष्ट्रेलियाले भारतविरुद्घको तेस्रो टेस्टमा आर्चीलाई कप्तान बनाउने घोषणा गरेपछि आर्चीसँगै बुवा डामिन र आमा सराहको मुहारमा लामो समयपछि खुसी ल्याएको छ ।
केही समयअघि एडिलेडमा भएको भारतविरुद्ध पहिलो टेस्टअघि अष्ट्रेलियन टोलीका अन्य खेलाडीसँगै आर्चीले पनि अभ्यास गरेका थिए । त्यतिबेला नै आर्चीलाई तेस्रो टेस्टमा कप्तानको जिम्मेवारीसहित मैदानमा उतारिने योजना बनाइएको थियो ।
अष्ट्रेलियन टोलीका प्रमुख प्रशिक्षक जस्टिन लेंगरले नै आर्चीलाई १५ सदस्यीय टोलीमा समावेश गरेको समाचारमा जनाइएको छ । गत शनिबार मात्र आफ्नो सातौं जन्मदिन मनाएका आर्ची बलिङ गर्न रुचाउँछन् । उनी लेग स्पिनर हुन् ।
प्रमुख प्रशिक्षक लेंगरसँगको कुराकानीमा आर्चीले आफूसँग भारतीय टोलीका कप्तान कोहलीलाई आउट गर्ने आत्मविश्वास रहेको पनि बताएका छन् । लेंगरले नै आर्चीलाई उनी तेस्रो टेस्टका लागि टोलीमा परेको जानकारी टेलिफोनमार्फत दिएका थिए ।
बीयूपीए फेमली डेका अवसरमा आइतबार दिउँसो यारा पार्कमा आयोजित कार्यक्रममा अष्ट्रेलियन र भारतीय टोलीका खेलाडीसँगै आर्ची पनि उपस्थित थिए । आर्ची अष्ट्रेलियन क्रिकेटर नाथन लियोनको खेल निकै मन पराउँछन् ।