१० पौष २०७५, काठमाडौं
आगामी माघ १९ बाट हुने भनिएको धनगढी प्रिमियर लिग (डिपिएल) को मिती सारिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यव्यस्तताका कारण खेल सारिएको बताईएको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी माघ १९ गतेदेखि हुने तय भएको प्रतियोगिता कम्तिमा एक साता पर धकेलिने जनाईएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खलाका लागि युएई जाने भएपछि डिपीएलको मिती प्रभावित हुने भएको हो । युएई विरुद्धको शृङ्खला खेल्न नेपाली टिम जनवरी अन्तिम साता युएई जानेछ ।
त्यही बीचमा डिपीएल पनि पर्ने भएकाले आयोजकले प्रतियोगिताको मिती एक साता पछि सार्ने तयारी गरेको हो । डिपीएलको यो संस्करणमा पनि ६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको लागि हुने खेलाडी अक्सनका लागि अहिले खेलाडी दर्ता जारी छ ।