११ पौष २०७५, काठमाडौं
पछिल्लो दशक विश्व फुटबलमा सबैभन्दा बढी कुनै फुटबलरको चर्चा र प्रतिस्पर्धा भयो भने उनीहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सी नै हुन् । उनीहरूले पछिल्लो दशक विश्व फुटबलमा एकछत्र राज गरे भन्दा पनि फरक पर्दैन । व्यक्तिगत अवार्ड, रेकर्डदेखि लिएर अनेक चर्चाका हिसाबले पनि विश्व फुटबल रोनाल्डो र मेस्सीकै वरिपरि घुमिरह्यो । र, अहिले पनि त्यो समयमा परितर्वन आइसकेको छैन ।
यी दुई खेलाडीबारे विभिन्न समयमा फुटबलसँग जोडिएका व्यक्तिले बोल्ने गरेका छन् । खास गरी रोनाल्डो र मेस्सीमा को उत्कृष्ट भन्ने सन्दर्भमा धेरैले बोल्ने गर्छन् । त्यसरी बोल्नेले आ–आफ्नो तर्क राखेर आफ्नो मत राख्ने गर्छन् । कतिपयले रोनाल्डोलाई उत्कृष्ट मान्छन् भने कतिले मेस्सीलाई । कमै मात्र यस्ता व्यक्ति हुन्छन्, जसले रोनाल्डो र मेस्सी दुवैलाई उत्तिकै उत्कृष्ट खेलाडीको रूपमा ग्रहण गर्छन् ।
यसैक्रममा इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले पनि रोनाल्डो र मेस्सीबारे बोलेका छन् । उनले रोनाल्डो र मेस्सीको आपसी प्रतिस्पर्धा र विवाद कहिल्यै नसकिने बताएका छन् । क्लोपले आफूले जीवनमा मेस्सी र रोनाल्डोजस्ता उत्कृष्ट र चर्चित खेलाडी कहिल्यै नदेखेको र फेरि कहिल्यै देख्न पनि नपाउने बताए । क्लोपले एकै समयमा विश्व फुटबलमा उस्तै ठूला र ऐतिहासिक उपलब्धि प्राप्त गर्नु एकदमै असामान्य रहको बताउँदै एकै समयमा मेस्सी र रोनाल्डोले उत्कृष्ट उपाधि र उपलब्धि हासिल गर्नु ऐतिहासिक भएको र फेरि यस्तो समय नदोहोरिने बताए ।
हालसालै क्लब लिभरपुलको अफिसियल टिभीसँग क्रिसमस पर्वको अवसरमा कुरा गर्दै उनले बालोन डि‘ओर जित्नु र नजित्नुले रोनाल्डो र मेस्सीको उत्कृष्टतालाई कुनै फरक नपार्ने पनि बताए । ‘अरूलाई के लाग्छ थाहा छैन । तर, बालोन डि‘ओर जसले जिते पनि उनले भनेका छन्, अव मेस्सी र रोनाल्डोजस्तो खेलाडीहरु कमै जन्मन्छन् ।
कुराकानीक्रममा क्लोपले केही रमाइला कुरा पनि गरेका छन् । उनले आफूले मेस्सीसँग खेल्फी खिचेको पनि बताए । ‘मसँग एक मात्र सेल्फी फोटो छ । मैले मेस्सीसँग सेल्फी खिचाएको थिएँ,’ उनले भनेका छन्, ‘त्यसबेला क्रिस्टियानो रोनाल्डोसमेत त्यही कोठामा थिए ।’
कुराकानीक्रममा उनले रोनाल्डो र मेस्सीमध्ये एक छान्न आफूलाई ज्यादै कठिन पर्ने पनि बताए । आफूले कुनै एक खेलाडीलाई छानेर अर्को उत्कृष्ट खेलाडीलाई पाखा नलगाउने बताए । ‘म त सधैं यी दुई खेलाडीको प्रदर्शनबाट फुटबलको मज्जा लिँदै आएको छु,’ उनले भने ।