नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट युएईसँग खेल्दै



११ पौष २०७५, काठमाडौं

नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी माघ ९ देखि २१ गते–जनवरी २३ देखि फेब्रुअरी ४, सम्म हुने गरी तयारी भइरहेको बताएकी छन् ।

“आइसिसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ तर आगामी माघ ९ देखि २१ गतेसम्म प्रतियोगिता गर्ने निश्चित भइसक्यो”, उनले भनिन् । युएईमा हुने सिरिजमा नेपालले एकदिवसीय र टी(२० खेल गरी ३(३ खेलसहित कूल ६ खेल खेल्ने भएको छ । नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ ।

गत मार्चमा जिम्बावेमा भएको वानडे वर्ल्ड कप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएट बन्दै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । त्यसपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय सिरिज हो । गत अगष्टमा नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय सिरिज खेलेको नेपालले युएईविरुद्ध दोस्रो पटक एकदिवसीय खेल खेल्न लागेको हो । युएईविरुद्ध यो पहिलो सिरिज भएपनि नेपालले एसिया कप छनोटमा युएईविरुद्ध एकदिवसीय खेल खेलिसकेको हो ।

दुवै टिम एकदिवसीय मान्यता प्राप्त भएकाले नेपाल र युएईबीचको खेलले एकदिवसीय मान्यता पाएको थियो । नेपालले अहिलेसम्म तीन एकदिवसीय खेल खेल्दा एक खेल मात्र जितेको छ भने दुईमा हार बेहोरेको छ ।

यस्तै एकदिवसीय मान्यता पाएपछि नेपालले नदरल्याण्ड्ससँग इंग्ल्याण्ड्को लर्ड्समा खेलेको टी–२० इन्टरनेशनल खेल भने वर्षाले प्रभावित भएपनि नतिजा विहिन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्