१२ पुष २०७५, काठमाडौँ
दिपकराज गिरी अहिलेका नाम चलेका अभिनेता भन्दा कम चर्चित छैनन् । हाँस्य टेलिसिरियल तितो सत्य बाट लोकप्रियताका कारण उनी चलचित्रमा पनि सफल साबित भैसकेका छन् । उनले लगातार ५ ब्लकबस्टर चलचित्र दिएपछि उनको स्टारडम अझ बढेको छ । दिपकले अब आउने २०७६ सालमा दुई भिन्न ब्यानरसँग चलचित्र गर्ने भएका छन् । गाजलु निर्माता रोहित अधिकारी र भद्रगोल टिमसँग अब आउने बर्ष उनको सहकार्य हुने भएको छ ।
दुवै चलचित्रमा कथा र पटकथा उनकै रहने छ । त्यसका साथै उनी दुवै चलचित्रमा कलाकारको रुपमा पनि रहनेछन् । यसपटक दिपकले नयाँ ट्रेन्ड सुरु गर्ने विचार गरेका छन् । अहिले कलाकारले चर्को पारिश्रमिक लिने गर्दा दिपकले भने त्यसो गरेका छैनन् । उनले दुवै चलचित्रमा आफ्नो १ रुपैँया लगानी नगर्ने र चलचित्र गरेबापत एक रुपैँया पनि नलिने बताएका छन् । तर चलचित्र सफल भएको खण्डमा चलचित्रको ५० प्रतिशत नाफा आफूले पाउनुपर्ने उनले शर्त राखेका छन् ।
नेपालमा निकै नाम चलेका कलाकारले पनि अहिलेसम्म यसरी जोखिमपूर्ण कदम उठाउन सकेका थिएनन् । तर दिपक भने यस्तो कदम चाल्न कसिएका छन् । अब दिपकको हातमा ५० प्रतिशत मुनाफा आउने हो की उनको बर्षभरिको मेहेनत खेर जाने हो त्यो हेर्न भने दर्शकले अझै केहिसमय पर्खनै पर्छ ।