१४ पुष २०७५,सुर्खेत
सुर्खेत । दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहिन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सिम्ता गाउँपालिका– खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिचिमा छन् ।
यमुना र निशा ९ मा अध्ययनरत हुन भने रिचिमा ७ कक्षामा मा अध्ययनरत छिन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिनमा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैननन् ।
उनीसँगै यमुना खत्री र रिसिमाका २ बहिनी पनि टिफिनमा निशाको घर आए फेरि स्कुल गएदेखी नफर्किएको उनको भनाइ छ । छोरीहरु बेलुकी घर नआएपछि आफन्तकहाँ सोध्दा नभेटिएपछि त्यही दिन राति प्रहरी चौकी आलीमा खबर गर्दा बेवास्ता गरेको भगवती बताउँछिन् ।
स्कुल पढाएका छोरीहरु एकाएक गायब हुँदा अनौठौ लागेको यमुना खत्रीकी आमा दीपाले जानकारी दिइन् । बुटवल फुपूको घर जाने भन्दै स्थानीय सल्लीबजारमा गाडी चालकहरुसँग उनीहरुले कुरा गरेको सुन्नमा आएको दीपाले बताइन् ।
एकजना गाडी चालकले सल्लीबजारदेखि मेहलकुनासम्म उनीहरुलाई लिएर रात परेपछि आफ्नै घरमा राखेको खुलेको छ । तर उनीहरु बिहानै कसैलाई थाहा नदिइ हिँडेको चालक बताउँछन् । हाल प्रहरीले चालकलाईसमेत इलाका प्रहरी कार्यलय छिन्चुमा राखेर सोधपुछ गरिएको छ।
हराएका बालिका निशा र यमुनाका बुवा हाल रोजगारीका लािग भारतमा छन् । निशाका बुवा गणेश सिंहले हराएका छोरीहरुको खोजी गरिदिन अपिल गरेका छन् ।