।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्
अथ तृतीयोऽध्यायः
अवतारहरुको वर्णन
लोकको सृष्टि गर्ने इच्छा हुँदा महद् तत्त्व आदिबाट सोह्र कलाको पुरुष रुपमा भगवान् उत्पन्न भए । पानीमा सुतेर उनले योगनिद्रा विस्तार गरे । सृष्टिकर्ता ब्रह्मा नाभिकमलमा बसे । अवयवहरुमा विस्तृत लोक रहेको त्यही सत्वमूर्तिबाट उत्पन्न रुप भगवान्को मानियो । हजार खुट्टा, तिघ्रा, पाखुरा, मुख, शिर, कान, आँखा, नाकमा मुकुट, माला, वस्त्र र कुण्डल थिए । त्यो रुप योगीहरु दिव्य दृष्टिले देख्छन् । यो नै अवतारहरुको अविनाशी बीज हो । यसैका अंशले देवता, तिर्यक् र मानिस बन्छन् ।
पहिलो कुमारसर्गमा उनी अखण्ड ब्रह्मचारी बनेर ब्रह्माण्डमा विचरण गरे । दोस्रो सर्गमा कल्याणका लागि यज्ञीय सूकरको रुप लिए र रसातलबाट पृथ्वीलाई उठाए । तेस्रो ऋषिसर्गमा देवर्षिका रुपले निष्काम कर्मको सात्वततन्त्र बताए । चौथो सर्गमा नर र नारायण दुई ऋषि भएर आत्मसंयमित हुँदै तपस्या गरे । पाँचौँमा सिद्धराज कपिल भएर तत्त्व निर्णायक हराएको साङ्ख्य खोजेर बताए । छैटौँमा अत्रि र अनसूयाका पुत्र भई अलर्क, प्रह्लाद आदिलाई आन्वीक्षिकी सिकाए । सातौँमा रुचि र आकूतिपुत्र यज्ञ भई याम आदि देवतासँगै स्वायम्भुव मन्वन्तरको रक्षा गरे । आठौँमा नाभि र मेरुदेवीका पुत्र उरुक्रम भई धीरहरुले स्वीकार गर्ने आश्रमको बाटो देखाए । नवौँमा पृथु राजाको रुप लिएर सम्पूर्ण ओषधि दोहन गरे । चाक्षुष मनुका पालामा मत्स्यरुप लिएर पृथ्वीरुप नौकामा राखेर वैवस्वत मनुलाई बचाए । एघारौँमा कछुवा रुप भएर देवता र दैत्यको समुद्र मन्थनमा मन्दराचल पर्वत पिठ्युँमा अड्याए । बाह्रौँ रुप धन्वन्तरी हो, तेह्रौँमा मोहिनी स्त्री बनेर दैत्यहरुलाई झुक्याउँदै देवतालाई अमृत खुवाए । चौधौँमा नरसिंह बनेर नङले च्यातेर दैत्यराजलाई मारे । पन्ध्रौँमा वामन भएर बलिका यज्ञमा तीन पाइला जमिन मागेर देवताहरुलाई फिर्ता दिए । सोह्रौँ अवतारमा ब्राह्मणद्रोही राजाहरुलाई एक्काईस पटक मासे । सत्रौँमा सत्यवती र पराशरका पुत्र भई वेदका शाखा छुट्याए । अठारौँमा नरदेव भई समुद्र बाँधे । उन्नाईसौँ र बीसौँमा बलराम र कृष्ण भई धर्तीको भार हटाए । कलिमा असुर सिध्याउन कीकट भन्ने ठाउँमा बुद्ध नामले उत्पन्न हुनेछन् ।
यस युगका अन्तमा राजाहरु ठग हुँदा जगत्पति कल्कि नामले जन्मिनेछन् । एउटै स्रोतबाट अनेक झर्ना बगेझैँ हरिका असङ्ख्य अवतार छन् । ऋषि, मनु, देवता, मनुपुत्र, प्रजापति यी सबै हरिकै कला हुन् । यी पुरुषहरु अंशकला हुन् र कृष्ण स्वयं भगवान् हुन् । दैत्यबाट दुःखित लोकलाई युगैपिच्छे रक्षा गर्छन् । भगवान्का यी गुह्य जन्म साँझबिहान सभक्ति प्रयत्नसाथ सम्झने मान्छे दुःखबाट छुट्छ । रुपहीन चिदात्मा भगवान्का महान् रुपको रचना आफैँले बनाएका माया आदिले भएको हो । देखिएका बादलको समूह नै आकाश र धर्तीको धुलो नै हावा भनेझैँ मान्ने अबुझ हुन् । यसपछिको रुप अव्यक्त, अव्याप्त, गुणरहित, अदृश्य र अश्रव्य हुन्छ । पछि जन्मने जीव तिनै हुन् । सत् र असत् रुप अज्ञानले छोपिए पनि आत्मज्ञान भएपछि ब्रह्मदर्शन हुन्छ । विलक्षण बुद्धिले माया अलग गर्न सक्ने विद्वान् आफ्ना महिमाले प्रशंसित हुन्छ ।
यी नजन्मने र कर्म नगर्ने हृदयपतिका जन्म र कर्मको गोप्यता विद्वान्हरु जान्दछन् । सबै उनै अमोघ लीला गर्नेले सृजन र रक्षा गरेका छन् तापनि उनी लिप्त छैनन् । प्राणीभित्र छवटा गुण छन् । तिनका अधिपति आत्मतन्त्रले नै षड्वर्गीको सुगन्ध सुँघ्दछ । कुत्सित् मन हुने प्राणीले नाम, रुप, मन, वचनले जति प्रयास गरे पनि विधाताको प्रयासलाई जान्न सक्तैन । त्यसैले अज्ञानीहरु नाटकको रचना जस्तो मान्दछन् । पराक्रमी परमेश्वर चक्रपाणिको धाता भन्ने पदवी जान्ने मायानिवृत्त परम पदको सुगन्ध फेला पार्छ ।
भगवान् वासुदेवमा आफ्नो कामनाको आत्मभाव गर्ने संसारचक्रमा फेरि फर्केर आउँदैन । उनको चरित्र वर्णन गरेर वेदसमानको यो भागवत पुराण व्यासले बनाए । लोक कल्याण गर्ने आत्मज्ञानी छोरालाई सिकाए । वेदको र इतिहासका सारको सार भएको यही राजा परीक्षितलाई सुनाइयो । धर्म, ज्ञानसँगै कृष्ण स्वधाम गएपछि ऋषिहरुसँग गङ्गा किनारमा परीक्षित व्रतमा बसे । कलिले नाश गरेका बेला पुराणरुप सूर्य उदायो र तेजस्वी विप्रर्षिहरुले प्रचार गरे । म पनि त्यहीँ गएँ र उनीहरुका अनुग्रहले सुनेँ । त्यो जुन रुपमा बुझेँ, उसरी नै अब भन्छु ।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे नैमिषीयोपाख्याने तृतीयोऽध्यायः ।।३।।
यो पनि पढ्नुहोस्…