१५ पुष २०७५ काठमाडौँ
हिमाली सञ्चार लिमिटेडद्धारा सोलुखुम्बुमा सञ्चालित हिमाल एफ.एम.को पाँचौ बार्षिक साधारण सभा आइतबार काठमाडौँमा सम्पन्न गरेको छ । साधारण सभाले आगामी चार वर्षका लागि निमा शेर्पाको नेतृत्वमा रहेको ७ जनाको पुरानै टिमलाई संचालक समितिमा पुन चयन गरेको छ ।
होटल तिब्बत ईन्टरनेशनल काठमाडौँमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा निमा नुरु शेर्पा र फिन्जो शेर्पा, महासचिव कर्मा शेर्पा, कोषाध्यक्ष दावागेलु पाख्रिन, प्रवन्ध निर्देशक भानुभक्त निरौला र सञ्चालक समिति सदस्य रोशनबावु थुलुङ गरी यस अघिको संचालक समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा, डिन ४५ देश कन्सुलर आङ छिरिङ शेर्पा, पूर्व सांसद आङदावा शेर्पा, नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी आङगेलु शेर्पा, भाषा आयोगका सदस्य उद्धब कुमार शर्मा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै एफएमका अध्यक्ष शेर्पाले समितिले बनाएका योजनाहरु पुरा गर्न पुरानै नेतृत्वलाई निरन्तरता दिइएको भन्दै खुसी व्यक्त गरे । उनले चार वर्षमा संस्थालाई अझ अगाडी बढाउने प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रबन्ध निर्देशक भानुभक्त निरौलाले राखेका थिए भने सञ्चालन सोनाम डोमा लामाले गरेकी थिईन् ।