१६ पौष २०७५, काठमाडौं
फुटबलमा नेपाली राष्ट्रिय टिम निरन्तर असफल हुँदै आएको समयमा अखिल नेपाल फुटबल संघले नयाँ प्रशिक्षकका रुपमा स्वीडिस योहान कालिनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । एकपटक नेपाली क्लब सम्हालेको अनुभव बटुलीसकेका कालिन नेपाली फुटबलमा उत्कृष्ट प्रशिक्षकको छाप छोड्न सफल भएका छन् ।
उनले औषत क्लबका रुपमा रहेको मछिन्द्रलाई २०७० मा उपविजेता बनाएका थिए। उसको त्यो नै माथिल्लो श्रेणीको लिगमा सबैभन्दा राम्रो नतिजा हो । त्यति बेला च्याम्पियन भएको मनाङ मर्स्याङदी क्लबसँग १ अंकले मात्र पछाडि परेको मछिन्द्रले स्वीडिस प्रशिक्षक योहान कालिनको नेतृत्वमा ऐतिहासिक उपलब्धि हात पारेको थियो ।
यिनै कालिनले अब नेपाली राष्ट्रिय फुटबल टोली सम्हाल्ने निश्चित जस्तै भएको छ । एन्फाको कार्यसमिति बैठकले कालिनलाई दुई वर्षका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको हो । लामो प्रक्रियापछि एन्फा र कालीनबीच सहमति भएको हो । कालिनले मार्च १, २०१९ देखि फेब्रुअरी २८, २०२१ सम्म राष्ट्रिय टिम सम्हाल्ने सहमति भएको बताईएको छ ।