१८ पौष २०७५, काठमाडौं
पल्सर शहीद स्मारक ए डिभिजन लिगको उपाधि अपराजित रहेको मनाङ मर्स्याङदीले पक्का गरिसकेको छ । अब दोस्रो स्थानका लागि भने प्रतिस्पर्धा निकै बढेको छ । रुस्लान थ्री स्टार र सीएमजी क्लब संकटाले अंक तालिकामा दोस्रो स्थान पक्का गर्ने लक्ष्य लिएर बुधबार मैदान उत्रने छन् ।
एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा संकटाले थ्री स्टारलाई पराजित गरे दोस्रो स्थान पक्का गर्नेछ । थ्री स्टारले संकटालाई पराजित गरेमा दोस्रो स्थानमा रहेर त्यहीं रहने सम्भावना बलियो बनाउने छ । अंक तालिकामा संकटाले ११ खेलमा २५ अंक जोडेको छ ।
यता थ्री स्टारले भने ११ खेलमा २३ अंक जोडेको छ । थ्री स्टारलाई १२ खेलमा २२ अंक जोडेको आर्मीले पनि पछ्याएको छ । पछिल्लो चरणमा दुवै टोलीले अंक गुमाएपछि लिगको प्रतिस्पर्धा थप रोमांचक मोडमा पुगेको हो ।