।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्
अथ चतुर्थोऽध्यायः
व्यासको असन्तोष
याज्ञिक मुनिहरुसँग यसो भन्दा सूतको प्रशंसा गरी वेदविज्ञ वृद्ध कुलपति शौनकले श्रेष्ठ वक्ता सूतलाई शुकबाट सुनेको भागवतको पवित्र कथा सुनाउने अनुमति दिए । त्यस अवस्थामा कथा भएको समय, ठाउँ, कथा उत्पन्न भएको कारण सबै भन्ने अनुरोध पनि गरेका थिए । साथै व्यासका महायोगी पुत्र समदर्शी, निर्विकल्प, एकान्तप्रेमी, जागरुक, गोप्य र मूर्ख जस्ता देखिन्थे । उनी नाङ्गै कुदे । छोरालाई पछ्याउँदै ऋषि गए । नाङ्गा छोरालाई देखे पनि नुहाउने स्त्रीहरु अविचलित थिए तर व्यासलाई देखेपछि उनीहरु लजाएर लुगा लगाउन लागे । व्यासलाई अचम्म लाग्यो र त्यसको कारण सोधे । समभाव भएका तिम्रा छोराका दृष्टिमा स्त्रीपुरुषको भेद छैन भन्ने उत्तर पाए भन्ने सुनियो । साथै अद्भुत देखिने, कतै धेरै समय नबस्ने शुकदेवलाई मानिसहरुले चिनेको र राजा परीक्षितलाई उनैले कथा सुनाएका विषयमा भन्न पनि सूतबाटै अपेक्षा गरियो । आफूले सुनेका कुरा सूतले सुनाउँदै यसरी भने-
द्वापर युगमा वसुकन्या र पराशरबाट हरिको अंश अवतार भयो । उनी सूर्योदयमा सरस्वतीका जलले आचमन गरेर एकान्तमा बसेका थिए । भूतभविष्यका ज्ञाता ती ऋषिले धर्तीमा युगधर्म अतिक्रमण हुँदै गरेको देखे । त्यसले भौतिक वस्तु, भावना र शक्तिको ह्रास भयो । श्रद्धा, पराक्रम, बुद्धि र आयु पनि घट्यो । ती अभागी मानिसहरुलाई देखेर सबै वर्णाश्रमको हितमा अमोघ दृष्टिले सोचे । वैदिक प्रजालाई चातुर्होत्र कर्मले शुद्ध गर्ने सोचेर यज्ञका लागि वेदलाई चार भाग लगाएर ऋक्, यजु, साम र अथर्व बनाए । इतिहास र पुराणलाई पाँचौँ वेद माने । ऋग्वेदका ज्ञाता पैल, सामका जैमिनि भए । यजुर्वेदका ज्ञाता वैशम्पायन भए । अथर्व वेदका विज्ञ आङ्गिरस र सुमन्तु भए । इतिहास र पुराणका ज्ञाता मेरा पिता रोमहर्षण भए । ती ऋषिहरुले आआफ्ना वेदलाई धेरै विभाग गरेर शिष्य, प्रशिष्य र तिनका शिष्यका शाखा बने । वेदको ज्ञान सबैले बुझुन् भनेर कृपालु व्यासले पुराण बनाए । पुराण इतिहासबाट मूर्खको श्रेय होस् भनी महाभारतको रचना गरे । यसरी प्राणीका हितमा सधैँ लाग्दा पनि उनी पूर्ण रुपले सन्तुष्ट भएनन् ।
असन्तुष्टि हुँदै सरस्वतीका तिरमा एक्लै बसेर सोच्न लागे- मैले नियमित वेद, गुरु र अग्निको सेवा गरेँ, निष्कपट भावले अनुशासन पालन गरेँ, महाभारत लेख्तै वेदको अर्थ पनि खुलाएँ । स्त्री, शूद्र सबैको धर्म बताएको छु । आफैँसँग ब्रह्मवर्चस क्षेत्रमा गर्ने कर्तव्य अपूर्ण भए जस्तो लाग्दै छ । भागवतको धर्म पूरै निरुपण भएन कि ? त्यसरी सोच्तै खिन्न भएकै बेलामा उनका आश्रममा नारद आए । मुनिले नारदलाई चिने र हत्तपत्त उठेर विधिवत् पूजा गरे ।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे नैमिषीयोपाख्याने चतुर्थोऽध्यायः ।।४।।