२० पुस २०७५, काठमाडौँ
‘जिन्दगीमा जे बने पनि हुन्छ, तर शिक्षक नबन्नु ।’ औपचारिक पढाइ सकेर पेसागत दुनियाँमा हामफाल्ने बेला मैले पाएको एउटा सुझाव थियो यो । मलाई सुझाव दिने करिब १ दशक सार्वजनिक विद्यालयमा काम गरिसकेका शिक्षक थिए ।
मैले संगत गरेका कतिपय शिक्षकको यस्तै सोच देख्छु । उनीहरू आफ्ना छोराछोरी, आफन्त र विद्यालयका ‘जान्ने’ विद्यार्थी शिक्षक भएको हेर्न चाहँदैनन् । उनीहरूलाई लाग्छ– शिक्षण दुखिया पेसा हो । यसमा राम्रो सुविधा हुँदैन । समाजमा राम्रो इज्जत हुँदैन । शिक्षकले ‘जस’ पाउँदैन । विद्यार्थी, अभिभावक, प्रशासन, सरकार र सबै सरोकारवालाको तारोमा शिक्षक नै पर्छ ।
यीमध्ये कति कारण जायज होलान् । बालबालिकाको भविष्य निर्माणको महत्त्वपूर्ण जिम्मेवारी भए पनि शिक्षण पेसा आकर्षक देखिँदैन । शिक्षकहरूले निजामती सरह सेवासुविधा पाएका छैनन् । राम्रो गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था छैन । निरन्तर सहयोग, तालिम र पृष्ठपोषणको व्यवस्था छैन ।
अधिकांश ठाउँमा प्रशासन सशक्त र उत्साहप्रद छैन । नीतिगत र संरचनागत सुधारका ठाउँ प्रशस्त छन् । परिस्थिति जेसुकै भएपनि शिक्षण अरू पेसाभन्दा सापेक्ष रूपमा विशेष र महत्त्वपूर्ण हुन्छ । तर आफ्नो पेसालाई बोझ, तेस्रो श्रेणी र जागिरका रूपमा मात्र लिनु बालबालिकामाथि अन्याय गर्नु हो ।
शिक्षण पेसालाई अपमानजनक रूपले हेर्ने शिक्षकले आत्मसमीक्षा गर्नैपर्छ । बालबालिकाको भविष्यलाई केन्द्रमा राखेर हेर्ने हो भने उनीहरूले दुईमध्ये एक विकल्प रोज्नुपर्छ । पहिलो, शिक्षणप्रतिको सोच बदल्ने र त्यसअनुसार समर्पित भएर काम गर्ने । दोस्रो, त्यस्तो पेसामा जानेजहाँ बच्चाहरू हुँदैनन् ।
शिक्षकले समग्र समाज र बालबालिकाको जिम्मेवारी आफ्नो काँधमा लिएको हुन्छ । उसले आत्मबल र आत्मसम्मान गुमाएर पेसागत धर्म ननिभाउँदाको असर राज्यलाई भारी पर्छ । हरेक शिक्षकले समाजमा आफ्नो महत्त्वबुझ्नु जरुरी छ ।
केही अभियन्ताले केही वर्षदेखि ‘शिक्षकले चाहे गर्न सक्छन्’ नामको अभियान चलाउँदै आएका छन् । दृढ इच्छाशक्ति भएका जाँगरिला शिक्षकहरूले आफ्ना विद्यार्थीका लागि अनेक प्रयास गरेका छन् । उनीहरूले विद्यार्थीको शैक्षिक उपलब्धिमा उल्लेख्य सफलता प्राप्त गरेका छन् । विद्यार्थीमा व्यक्तित्व, आत्मबल र प्रगति उन्मुख मनस्थिति निर्माण गरेका छन् । पाठ्यक्रमको मर्म अनुरूप शिक्षालाई श्रम, चरित्र र संस्कारसँग जोडेका छन् ।
शिक्षकहरूको प्रशिक्षणमा प्रयोग हुने एउटा प्रसिद्ध मोडल छ– एकाडेमिक इम्प्याक्ट मोडल । यस मोडलका अनुसार शिक्षकको ज्ञान, सीप र मनस्थितिबाट शिक्षकको कर्म निर्धारण हुन्छ । शिक्षकको कर्मबाट विद्यार्थीको मनस्थिति निर्माण हुन्छ । विद्यार्थीको मनस्थितिबाट उनीहरूको व्यवहार निर्माण हुन्छ र त्यसले उपलब्धि निर्धारण गर्छ ।
यसको अर्थ शिक्षकले जे सोच्छ, त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको उपलब्धिमा पर्छ । यसकारण शिक्षकले आफ्नो पेसाप्रति गर्व गर्न जरुरी छ । आफ्नो पेसामा नरमाउने र हीनताबोध हुने शिक्षकले
आफ्नोसँगै विद्यार्थीको जीवन र समग्र देशको प्रगति धरापमा पार्छ । किनकि उसको सोच कक्षाकोठामा देखिन्छ ।
कक्षाकोठाबाट सोच घर–घर पुग्छ । त्यही सोच देशभरि फैलिन्छ । वर्तमानको सोच भविष्यमा पनि देखिन्छ । शिक्षकको एउटा सोचले समाजको विचार निर्माण गर्छ ।
अत: शिक्षकले शिक्षणमा अर्थ देख्न आवश्यक छ । आचार्य चाणक्यले भनेजस्तो, शिक्षक कहिल्यै साधारण हुँदैन । उसले बनाउन वा भत्काउन सक्छ । शिक्षकले आफ्नो सोच र व्यवहारको समाजमा देखिने परावर्तन हेर्न आवश्यक छ । यसले उसलाई सही मार्गनिर्देश गर्छ । शिक्षक आदर्शका रूपमा जिउन आवश्यक छ । उसको वाणी र विचारभन्दा कर्मको प्रसार छिटो हुन्छ । उसले गर्ने काम र प्रदर्शन गर्ने व्यवहार विद्यार्थीले सहजै सिक्छन् ।
कुनै शिक्षक कक्षामा ढिलो आउँछ भने उसका विद्यार्थीहरूले गैरजिम्मेवार हुन सिक्छन् । भविष्यमा आफूले पाएको जिम्मेवारीमा पनि उनीहरूले ढिलो गर्ने प्रबल सम्भावना रहन्छ । कुनै शिक्षकले झारा टार्नेगरी मात्र पढाउँछ भने विद्यार्थीले पनि अल्छी हुन सिक्छन् । कुनै शिक्षकले कक्षामा विभिन्न क्षमता, जात, धर्म, आदिका आधारमा भेदभाव गर्छ भने विद्यार्थीले पनि विभेद सिक्छ । आज कक्षाकोठामा शिक्षकले जस्तो व्यवहार गर्छ, २५ वर्षपछिको सडक, सदन र सरकार पनि त्यस्तै हुनेछ ।
अत: शिक्षकले आफ्नो काममा जिम्मेवार हुनुपर्छ । सबैको सम्मान गर्नुपर्छ । मिहिनेत गरेर सिकाउनुपर्छ । कुनै किसिमको विभेद गर्नु हुँदैन । स्वस्थकर जीवनशैली अपनाउनुपर्छ । वातावरणको संरक्षण गर्नुपर्छ । विद्यार्थी र समाजका लागि सबैभन्दा महत्त्वपूर्ण पुस्तक शिक्षकआफै हो । (साभार : कान्तिपुर दैनिक)
लेखक टिच फर नेपालका तालिम तथा सहयोग उपनिर्देशक हुन् ।