बिपिएल : सन्दीपको उत्कृष्ट खेल तर, टिम पराजित



२२ पौष २०७५, काठमाडौं

नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बिपिएल डेब्युमा उत्कृष्ट प्रदर्शन प्रदर्शन गरेपनि उनको टिमले हार बेहोरेको छ । आइतवार भएको खेलमा सिक्सर्स कोमिला भिक्टोरिएन्ससँग ४ विकेटले पराजित भएको हो ।

सन्दीपले डेब्यु खेलमा ४ ओभर बलिङ गर्द १६ रन खर्चेर २ विकेट लिएका थिए । सुरुको २ ओभरमा ८ रन खर्चेर विकेट लिन नसकेका सन्दीपले पछिल्लो २ ओभरमा एक(एक विकेट लिएका थिए । सन्दीपले भिक्टोरिएन्सका सोएल मल्लिकलाई सविर रहेमानको हातबाट क्याचआउट गराए भने अनामुल हकलाई बोल्ड गरे ।

पाकिस्तानका लिजेण्ड शाहिद अफ्रिदीले शानदार ब्याटिङ गर्दै नटआउट ३९ रन बनाएपछि सिक्सर्सले दिएको १२८ रनको लक्ष्य भिक्टोरिएन्सले १ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गरेको हो ।

सातौँ नम्वरमा ब्याटिङ गरेका अफ्रिदीले २५ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । ओपनर तमिम इकबालले ३४ बल खेल्दै ३५ रन योगदान गरे । सिक्सर्सका लागि सन्दीप र अल–अमिन हुसेनले २–२ विकेट लिए। सन्दीप सिक्सर्सका लागि सबैभन्दा किफायती बलर बने । उनले २४ बल बलिङ गर्दा १२ बल डट फाले भने २ वाइड बल फाले । तर उनले चौका र छक्का भने दिएनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिक्सर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाउदा सन्दीपले नटआउट १ रन बनाएका थिए । सिक्सर्सका लागि निकोलस पुरनले २६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस्