२३ पौष २०७५, काठमाडौं
तपाइँहरु कतिलाई थाहा छ नेपालमा भोजपुर भन्ने जिल्ला छ भनेर ? नेपालको मानचित्रमा मध्य पहाडी क्षेत्र अन्तर्गत साबिक कोशी अञ्चल र हालको एक नम्बर प्रदेशभित्र नियाल्दै जानुभयो भने उत्तरपटिको पहाडी जिल्लामा एउटा नाम छ भोजपुर । १५२२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र सामुन्द्रिक सतहबाट १५४० मिटर उचाईमा रहेको सबै जातजाति मिलेर बसोबास गर्दै आइरहेको प्राकृतिक रुपमा अति सुन्दर एक जिल्ला हो भोजपुर। थाहा हुनेलाई धन्यवाद । जतिलाई थाहा छैन त्यसमा तपाइँहरुको कुनै दोष छैन थाहा नपाउन पाइन्छ ।
त्यहि थाहा नहुने भीडभित्र नेपाल सरकार पनि पर्छ । नेपाल सकारलाई पनि थाहा छैन नेपालमा भोजपुर जिल्ला छ भनेर । चुनावताका एकाध पार्टीका उम्मेदवारलाई थाहा हुन्छ । चुनाव सकिएसँगै विस्मृतीमा जान्छ भोजपुर । स्मरण रहोस् भोजपुरमा पनि नेपाली नै बस्छन् । उनीहरुको नागरिकतामा माथि लेखिएको छ ‘नेपाल सरकार’ भनेर । त्यो सरकारको तर्फबाट किर्ते होइन भने भोजपुरवासी नेपाली नै हुन् । भोजपुर नेपाल नै हो ।
नेपालको संविधानमा अर्को मुलुकबाट राष्ट्रपति खोजेर ल्याउन नमिल्ने ब्यावस्था अझै सम्म यथावत नै रहिरहेको छ भने पनि भोजपुर नेपाल नै हो भनेर भन्न त्यति अन्कनाउनु नपर्ला । नेपालको कानुनले एक नम्बर प्रदेशको प्रदेश प्रमुख पशुपतिनाथको मुल पुजारी जस्तो अर्को राष्ट्रबाट खोजेर ल्याउन मिल्ने ब्यावस्था छैन भने ढुक्कसँग भोजपुर अझै पनि नेपाल नै हो भन्न सकिन्छ ।
नेपालको पहिलो रेडियो “रेडियो आकाशवाणी” को उद्घोष नारदमणी थुलुङले भोजपुरबाटै गरेर राणा बिरूद्धको क्रान्तिको शुरूवात गरेका थिए । उनले पहिलो विजय भोजपुरको सदरमुकाम आक्रमणबाट नै गरेका थिए । बि.सं. १८७२ मा राजा गिर्वाणयुद्धको समयमा भोजपुर जिल्लाकै टक्सार भन्ने ठाउमा १ पैसे र २ पैसे सिक्का (टक) छापिने गर्दथ्यो । साथै बि.सं. १९३२ मा बाल ब्रम्हचारी षडानन्दले भोजपुर जिल्लाकै उत्तर भेगको दिङ्ला भन्ने ठाउँमा देशकै पहिलो संस्कृत पाठशाला खोलेका थिए । विधुषी माता योगमायाले भोजपुरबाटनै सतिप्रथको बिरोधसंगै सामाजिक न्यायको आन्दोलन चलाएर जहानिय राणाहरुलाई चुनौती दिएकी थिईन। भोजपुरकै रामप्रसाद राईले तत्कालिन राज्यसत्ताको सुधारको निम्ति एकल आन्दोलनको नेतृत्व गर्दै विभिन्न भू:भाग आफ्नो कब्जामा बनाउन सफल बनेका थिए । यो पनि नेपाल सरकारलाई अझैसम्म थाहा छैन र हुदैन पनि।
देशमा दर्जनौं प्रधानमन्त्रीहरु फेरिए भोजपुर चिनेन् । सयौं मन्त्रीहरु हेरफेर भए र पनि भोजपुर चिनेनन् । आलङ्कारिक राष्ट्रपतिहरुले त झनै चिन्ने कुरै भएन । भृकुटीले तिब्बतमा गएर पनि माइतीघर, गाउँ चिनाईन, सिताले अयोध्यमा पुगेर पनि माइतीघर, गाउँ परिचित पारिन तर भोजपुरकै चेली देशको राष्ट्रपति हुँदा माइतीघर बिरानो बन्यो । माईतिको आगन अपरिचित हुन पुग्यो । यो भोजपुरको लागि अहोभाग्य हो भनौं अथवा दुर्भाग्य।
देश राष्ट्रपतिलाई विश्वकै उत्कृष्ट सुविधा उपलब्ध गराउँने राष्ट्रको रुपमा परिचित भैसक्यो । जनप्रतिनिधिहरुलाई ७५ प्रतिशात भन्दा बढी तलब वृद्धि गर्ने राष्ट्र बनिसक्यो । त्यतिमात्र हैन नेताज्यूहरुको सुविधाको लागि पनि नेपाल विश्वकै उत्कृष्ट राष्ट्र हो । साना साना काममा पनि ठुलोठुलो कमिशन वाँडफाँडको खबरले नेपालको नाम विश्वको धनी राष्ट्रहरु भन्दापनि माथि छ । हुँदाहुँदा जापानमा वनेको स्याटलाइट अमेरिकाबाट प्रक्षेपण गर्दै नेपालको नाम अझ चहक वनाउँने भैसक्यो मुलुक । तर, कठै भोजपुर जहिले अरुणको एउटा पुलमा विलौना गरेर वसेको छ । जहिलै छिमेकी जिल्लाहरुको झिलिमिली उज्यालो हेरेर दैनिकी गुजारेको छ ।
चर्चित कविहरू परशु प्रधान, गणेश रसिक, दैबज्ञराज न्यौपाने, मञ्जुल, शैलेन्द्र साकार, श्रवण मुकारूङ, र श्याम टमोत सँगसँगै कलाकारहरु दयाहाङ राई, बाबु बोगटी, फुर्वा शेर्पा तथा सम्मानिय राष्टपती बिद्यादेवी भण्डारी, प्रदीप नेपाल, प्रदेश एकका मुख्यमन्त्री सेरधन राई, शंकर कोईराला सबै यहिको उर्वर भूमी भोजपुरमा हुर्किएका थिए । नाम धेरै नकमाए पनि दाम धेरै कमाएका प्रतिष्ठित ब्यापारीहरू पनि काठमाडौ, पोखरा लगायत पूर्वका कतिपय शहरमा रहेका छ्न। अन्तराष्ट्रिय रुपमै परिचित रिद्दिसिद्धि ज्वलर्स, देशकै ठुलो बुद्ध एयर र यती एयर भोजपुरेकै हो तर २०४६ साल भन्दा अघि नै सुगम जिल्ला घोषित भएको भोजपुर जिल्ला आजसम्म विकास हुनबाट बन्चित नै छ।
यी सबै हुनको मूल कारण अझै पनि सरकारले भोजपुर जिल्लालाई आफ्नो देश भित्र छ वा छैन चिन्न नसक्नु हो। अब आखा खोलिबक्सियोस , कान सुनिबक्सियोस देशको लागि ज्यान दिने भोजपुरेहरु अझै सम्म जिवित छन्। सरकार ! भोजपुर नेपाल नै हो, भोजपुरमा पनि नेपाली नै बस्छन्।