२३ पौष २०७५, काठमाडौं
स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिड जिरोनासँग २–१ ले पराजित भएको छ । १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जिरोनाले सो जित दर्ता गरेको हो ।
रियल म्याड्रिडले खेलमा राम्रो सुरुवात गर्दै बाह्रौँ मिनेटमा अग्रता लिन सफल भएको थियो । क्रिस्टियानो रोनाल्डोको प्रहार रिबाउन्डमा आएपछि सो अवसरको सदुपयोग गर्दै इस्कोले रियललाई अग्रता दिलाएका थिए । रियलले सो अग्रता पहिलो हाफसम्म कायम राखे पनि दोस्रो हाफमा जिरोना दुई गोल गर्न सफल भएको थियो ।
खेलको ५४ औँ मिनेटमा स्ट्राइकर क्रिस्थियन स्टुवानिले आफुले पाएको अवसरमा राम्रो फिनिस गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटमा जिरोना अर्को गोल गर्न पनि सफल भयो । पब्लो माफियोको पासमा क्रिस्टियन पोर्टुको गोल जिरोनाको ऐतिहासिक जितका लागि पर्याप्त सावित भयो । यस जितसँगै १० खेलमा १२ अंकका साथ जिरोना एघारौँ स्थानमा उक्लेको छ ।
रियल भने १० खेलमा २० अंकसहित तालिकाको तेस्रोमा रहेको छ । रियल बार्सिलोनाभन्दा ८ अंकले पछि रहेको छ र यो हारपश्चात रियलको उपाधि रक्षामा पनि ठूलो धक्का पुगेको छ ।