नेपाल पुलिसलाई सभामुख कपको उपाधी



२४ पुस २०७५, इटहरी

सर्वाधिक पुरस्कार राशि भएको दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र सुनसरी खेलकुद विकास समितिको संयोजकमा १९ गते देखी सुरु भएको खेलको फाइनल सोमवार आज भएकोे हो ।

इटहरी रङ्गशालामा भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २६–२४, २२–२५,  २५–२१ र २५–१७ को सेटमा हराएको हो ।

जितसँगै पुलिसले नगद ४ लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र पाप्त गरेको छ । भने, आर्मीले नगद २ लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो स्थानका लागी भएको प्रतिस्पर्धामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफले  गण्डकी प्रदेशलाई २५–२२, २५–१६ र २६–२४ को सेटमा हराउँदै तेस्रो स्थान हात पारेको छ । एफिएपले नगद १ लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलमा सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका धन बहादुर भट्ट घोषित भएका छन् । उनले २४ इन्चको एलइडि सहित मेडल प्राप्त गरेका छन् । त्यस्तै विधागत उत्कृष्टतातर्फ उत्कृष्ट हुने खेलाडीले पनि नगद ५ हजारको साथमा मेडल प्राप्त गरेका छन् ।

खेलको समापनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले इटहरीमा राष्ट्रिय खेलकुद परिषदको पहलमा रङ्गशाला निर्माण गरेको बताउनुभयो । उहाँले यस्ता राष्टिय स्तरका खेलले खेलप्रेमीलाई हौसला मिल्ने बताउँदै प्रदेश नं १ वाटै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादन हुन सहयोग मिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्