शहीद स्मारक ए डिभिजन लिग : आज अन्तिम दिन दुई खेल हुँदै



२४ पौष २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता मंगलबार सकिने भएको छ । झन्डै तीन महिनादेखि संचालन भईरहेको लिग आज सकिने भएको हो । प्रतियोगिताको अन्तिम दिन आज दुई खेलहरु हुने भएको छ ।

दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा उपाधि विजेता मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उपाधि जितिसके पनि सबै खेल जितेर कीर्तिमान कायम गर्न मनाङका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । मनाङले यसअघि खेलेका १२ वटै खेल जितेको छ । अंकतालिकाको १२ औं स्थानमा रहेको फ्रेण्ड्स क्लबलाई हारजितले खासै अर्थ नराखे पनि मनाङलाई इतिहास रच्नबाट रोक्ने उसको प्रमुख लक्ष्य हुनेछ ।

दिउँसो २ बजे सशस्त्र प्रहरीको खेलमैदान हलचोकमा हुने खेलमा न्यूरोड टिम एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुच्छारमा रहेको एनआरटीले खेल जिते दुई स्थानसम्म माथि उक्लन सक्नेछ भने एघारौं स्थानमा रहेको ब्रिगेड ब्वाइजका लागि नतिजाले खासै असर गर्दैन ।

प्रतियोगिताको बिजेता मनाङले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख र पाँचौँ स्थान सुरक्षित गरेको एपीएफले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ वट टोलीले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्