।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्
अथ पञ्चमोऽध्यायः
कीर्तनको महिमा र नारदको पूर्वचरित्र
दिक्क भएर बसेका व्यासलाई हातमा वीणा लिएका नारदले नजिकै आएर भने- हे पराशरपुत्र के भयो ? तिमी मन, शरीर वा आफूसँग सन्तुष्ट छैनौ ? सबै अर्थले सम्पन्न, महान् अद्भुत महाभारत रचना गरेर तिम्रो इच्छा पूरा भयो होला । सनातन ब्रह्मको जिज्ञासा र त्यसको अध्ययन ग¥यौ र पनि अकृतार्थ झैँ खिन्न देखिन्छौ ।
मेरा विषयमा तिमीले भनेको सत्य हो । मेरो आत्मा सन्तुष्ट छैन । तिमी अगाध आत्मज्ञानले सम्पन्न छौ र आत्मभूत पनि हौ । त्यसैले तिमीलाई नै सोध्छु । उनै उपास्य पुराणपुरुष, परावरेश, संसारको सृष्टि, पालन र नाश गर्ने, गुणबाट तटस्थ भगवान्को तिमीले सबै गोप्यता जानेका छौ । तिमी सूर्यझैँ तीनै लोक घुम्दै अन्तःकरणमा विचरण गर्ने वायुझैँ आत्माका साक्षी हौ । धर्मपूर्वक नियमद्वारा परावर ब्रह्ममा स्नान गरेकाले मेरो कमजोरी जे छ त्यसलाई राम्ररी भन- व्यासले भने ।
भगवान्का पवित्र गाथाको सबै बयान नगर्दा तिमीलाई आत्मसन्तुष्टि भएन । तिमीले धर्म, अर्थको निरुपण गरेको सरी वासुदेवको महिमा वर्णन गरेनौ । हरिको यशोगान नभएका विचित्र कुराले संसार पवित्र गर्दैन । मानसतीर्थमा फोहोरी काग होइन, हंस विचरण गर्छन् । मानिसको पाप नाश गर्ने अनन्तको नाम सज्जनले सुन्छन्, गाउँछन् र कीर्तन गर्दछन् । अच्युतप्रति भाव नभएमा पवित्र र निरञ्जन ज्ञान पनि शोभित हुँदैन । कारण रहित भई कर्मलाई शाश्वत ईश्वरमा अर्पित नगरी सफल भइन्न । तिमी अमोघ दृष्टि, पवित्रकीर्ति, सत्यमा चल्ने हौ । समाधिका नियममा बसेर बन्धनबाट मुक्त गर्ने उरुक्रमलाई स्मरण गर । अन्य रुप, नाम, दृष्टिको बयान गरेर बुद्धि स्थिर हुँदैन । हावाले हानेको नौका जस्तो हुनेछौ । धर्मका नाममा अन्य अनुरक्ति बढ्यो भने ठूलो गल्ती गर्नेछौ । आफूले धर्म हो भन्ने ठानेको वाक्यलाई छोड्नु हुँदैन भन्दै विशिष्ट ज्ञानी बुद्धिमान्हरु व्यापक, अनन्त, अपार भगवान्को नामबाट विमुख भएर सुख पाउँछन् । सत्वादि गुणमा रम्ने देहाभिमानीहरुका निम्ति अब परमात्माको लीला बयान गर । हरिका चरणकमलको भजन स्वधर्म हो । त्यसलाई त्यागेर पतन भइयो भने अहित हुन्छ ।
स्वधर्मले आप्तको नियम पालन गर्दा नै असल हुन्छ भनी बुद्धिमान्ले त्यसका लागि प्रयत्न गर्नुपर्छ । त्यसमै रमाउँदा पनि केही पाइएन वा दुःखसुख जे पाइयो त्यो सर्वथा कालको प्रभाव हो । मुकुन्दको सेवा गर्ने मानिस अरु जस्तो संसारचक्रमा कसै गरे पनि पर्दैन । एकपटक मुकुन्दका चरणमा समर्पित भएका रसग्राहीले फेरि त्यसलाई छोड्न सक्तैन । भगवान्बाहेक जगत्को स्थिति भएका ठाउँमा निषेधको सम्भावना हुन्छ । आफूलाई परमात्माको कलाका रुप हौ भन्ने अचुक दृष्टिले हेर्नुपर्छ । संसारको हित गर्न अजन्मा नै भए पनि जन्मिन पाएको महाभाग्यशाली हुँ भनी मान्नुपर्छ । यही मानिसका तपस्याको, ज्ञानको, सज्जनताको वा महान् लक्ष्यको फल हो । यही वा बुद्धिले दिएको अकाट्य अर्थ हो र। उत्तमश्लोकका गुणको वर्णन पनि त्यही नै हो भन्ने ज्ञानीहरुले ठम्याएका छन् ।
म पूर्वजन्ममा वेदप्रचारककी दासीको छोरो थिएँ । बालकमै योगीहरुबाट चातुर्मासको कथा मैले सुनेको थिएँ । चञ्चल नभई, खेल्ने उफ्रने नगरी म धीर रहन्थेँ । चुप लागेर सुनिरहने हुनाले ममाथि ती समदर्शीहरुले कृपा गरे । द्विजहरुका अनुमतिले भाँडामा टाँसिएको, उभ्रेको एक छाक खाँदै त्यसैबाट म मेरो पूर्व जन्मको पाप मेटाउने गर्दथेँ । त्यसरी नै मेरो चित्त पवित्र हुँदै गयो र धर्ममा रुचि उत्पन्न भयो । उनीहरुकै कृपाले मैले कृष्णका सुन्दर कथाहरु सुनेँ । कथाका प्रत्येक पद श्रद्धाले सुन्दा सुन्दै मभित्र अखण्ड भक्ति उत्पन्न भयो । रुचि भइसकेपछि मेरो बुद्धि नै प्रियश्रव कृष्णतर्फ ढल्कियो । अहिले मनमा कल्पित सत् र असत् जगत्लाई म परब्रह्म स्वरुप मान्छु । वर्षा र शरद् ऋतुमा हरिको पवित्र यश सावधानीपूर्वक महात्माहरुसँग बसेर सुनेकाले रज र तमोगुण नाश भई मभित्र भक्ति जाग्यो । त्यसरी अनुरक्त र श्रद्धालु म बालक अनुचरसँग साक्षात् भगवान्ले दिएर गएको गोप्य ज्ञान छ भनी ती कृपालु दीनवत्सलहरु बताउँथे । मैले भगवान् वासुदेवको माया एवं त्यसको प्रभाव जानेँ । परम पद त्यसैबाट पाइन्छ ।
तीन ताप विनाश गर्ने उनै ईश्वरमा कर्महरु अर्पण गर्नुपर्छ भनी मैले तिमीलाई बताएँ । प्राणीलाई रोगी बनाउनेलाई नै चिकित्साले निर्मूल गर्दा रोगको औषधि हुन्छ । मनुष्यका यस्ता कर्मको योग सबै जन्ममृत्युको कारण हो । त्यो भगवान्मा अर्पण गर्दा कर्मभाव मेटिन्छ । भगवान्लाई सन्तुष्ट गर्न यहाँ गरिने कर्महरुकै अधीनमा ज्ञान, भक्ति र योग समन्वित हुन्छन् । भगवान्का आदेशमा कर्म गरी नाम, गुणको गायनसँगै कृष्णको स्मरण गर्नुपर्दछ । भगवान् वासुदेव भनी ध्यान गर्छु । प्रद्युम्न, अनिरुद्ध र सङ्कर्षणलाई नमस्कार छ । मन्त्र स्वरुपका मूर्तिहीन यज्ञपुरुषलाई उचित दृष्टि भएका मानिसले राम्ररी ध्यान गर्दछन् । यो मैले गरेको स्वचिन्तनकै कारण मलाई केशवले आफ्नो ज्ञान, ऐश्वर्य र भाव पनि दिए । तिमीले आर्जन गरेका विभुका अनन्त ज्ञानहरुबाट जिज्ञासुको मन शान्त हुन्छ । मन दुःखमा पिल्सिएका मानिसहरु यसरी नै कष्टबाट मुक्त हुन्छन्, अर्को कुनै उपाय छैन भनी नारदले आफ्नो वृत्तान्त सुनाए ।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे व्यासनारदसंवादे पञ्चमोऽध्यायः ।।५।।