कोपा डेल रे : रियल मड्रिडको खेलको प्रगति



२६ पौष २०७५, काठमाडौं

कोपा डेल रे फुटबलमा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ । अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले सहज जित निकालेको हो । बुधबार राति भएको खेलमा रियलले लेगानेसलाई ३–० गोल अन्तरले हराएको हो ।

रियलका लागि कप्तान सर्जियो रामोस, लुकास भास्केज र भिनिसियस जुनियरले एक एक गोल गरे । रामोसले एक गोल गरेसँगै उनले करिअरको एक सयौँ गोलको कीर्तिमान पनि बनाए । घरेलु मैदानमा म्यानचेस्टर सिटीबाट हालै क्लबमा अनुबन्ध भएका मिडफिल्डर ब्राहिम डियाजले डेब्यु गरेको खेलमा रियलले कप्तान रामोसको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो ।

खेलको ४४ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । खेलको ६८ औँ मिनेटमा भास्केजले गोल गर्दै रियलको अग्रता २–० बनाए भने खेलको ७७ औँ मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३–० को सहज जित दिलाए ।

जितसँगै रियल कोपा डेल रे फुटबलको अन्तिम आठ नजिक पुगेको छ । अब रियलले जनवरी १६ मा उसैको मैदानमा लेगानेससँग दोस्रो लेग खेल्ने भएको छ । कोपा डेल रे अन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिड जिरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्