२७ पौष २०७५, काठमाडौं
‘कोपा डेल रे’ अन्तर्गत भएको अन्तिम १६ को खेलमा बार्सिलोना पराजित भएको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको पहिलो लेगको खेलमा बार्सिलोना अवे मैदानमा लेभान्टेसँग २–१ ले हारेको हो ।
लेभान्टेको घरेलु मैदानमा भएको खेलमा चौथो मिनेटमै लेभान्टेका लागि केबाकोले सुरुआती गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि खेलको १८औं मिनेटमा यसै सिजनको सुरुमा रियल मड्रिडबाट गएका बोर्जा मायोरलले गोल गरेपछि पहिलो हाफमा लेभान्टेले बार्सिलोनाविरुद्ध २–को अग्रता लिएको थियो ।
त्यसपछि दोस्रो हाफमा बार्सिलोनाले पेनाल्टीबाट १ गोल फर्कायो । डिबक्समा बार्सिलोनाका खेलाडी डेनिस स्वारेजमाथि लेभान्टेका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा बार्सिलोनका लागि फिलिपे कोउटिन्होले खेलको ८५औं मिनेटमा गोल गर्दै खेल २–१ को बनाए । तर, त्यसपछि बाँकी समयमा बार्सिलोनाले थप गोल गर्न नसक्दा खेल घरेलु टोली लेभान्टेले खेल २–१ ले जित्यो ।