टी–२० महिला क्रिकेट : नेपालको लगातार दोस्रो जित



२९ पौष २०७५, काठमाडौं

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास अन्तर्गत नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ । मलेसियाले दिएको ६२ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा रोमा थापाले सर्वाधिक २० रन अविजित बनाइन् भने सिता राना मगरले १६ रन बनाएकी थिइन् । त्यस्तै काजल श्रेष्ठले ६ र इन्दु बर्मा ३ रन बनाएर आउट भएका थिए । त्यस्तै ममता कुमारी चौधरीले अविजित ९ रन बनाएकी थिइन् ।मलेसियाका बलर इन्तान जाफर र ऐन्ना हाशिमले एक एक विकेट लिएका थिए भने नेपालको एक विकेट रन आउटका रुपमा गएको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले १९.३ ओभरमा अलआउट हुदै ६१ रन बनाएको थियो । मलेसियाका लागि सियो ताजिन यीले सर्वाधिक १२ रन बनाएकी थिइन् भने युश्रीना याकोबले ११ रन बनाएकी थिइन् । मलेसियाका लागि अन्यले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपाली बलर सरिता मगरले ४ विकेट लिएकी थिइन् भने कविता कुवर, इन्दु बर्मा, नेरी थापाले एक एक विकेट लिएका थिए । नेपालले मलेसियाका तीन खेलाडीलाई रन आउट गरेको थियो । नेपालले शनिबार चीनमाथि १० विकेटको जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

थाईल्याण्ड टि–२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, युएई, चीन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिलाई ५/५ टिमको दुई समुहमा विभाजन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्