२९ पौष २०७५, काठमाडौं
विश्व फुटबलका खेलाडी तथा पोर्चुगिज स्टार क्रिस्ट्रियानो रोनाल्डोविरूद्ध लागेको बलात्कार मुद्दाको अनुसन्धान गर्न प्रहरीले उनको डिएनए संकलन गर्ने भएको छ ।
अमेरिकाको लस भेगासस्थित प्रहरीले रोनाल्डोको डिएनए स्याम्पल पठाउन इटालियन अधिकारीहरूलाई चिठी पठाएको छ । ३३ वर्षीय रोनाल्डो अहिले इटालियन क्लब यूभेन्टसबाट व्यवसायिक फुटबल खेल्छन् ।
पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई जबरजस्ती गरेको आरोप लगाएकी छन् । सोही विषयमा परेको मुद्दामा अनुसन्धान गर्न रोनाल्डोको डिएनए मागिएको लस भेगास प्रहरीले जनाएको छ ।
सुरूमा क्याथरिनले लगाएको आरोपबारे प्रहरीले अनुसन्धान टुंग्याएको थियो । किनकी उनले आफूलाई युरोपेली फुटबलरले बलात्कार गरेको बताएकी थिइन् तर नाम तोकेकी थिइनन् ।
गत अगस्टमा उनका वकिलले रोनाल्डोले क्याथरिनलाई बलात्कार गरेको र कुरा गोप्य राख्न ३ लाख ७५ हजार अमेरिकी डलर दिएको भन्दै मुद्दा हालेपछि प्रहरीले फेरि अनुसन्धान अघि बढाएको हो । तर उनका वकिलले भने यि सबै कुराहरु झुट भएको बताउँदै आएका छन् ।