०१ माघ २०७५, काठमाडौं
अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सार्वजनिक वित्त व्यवस्थान विषयमा विशेष तालीम शुरु भएको छ ।
अर्थ मन्त्रालयले भारत सरकारलाई गरेको अनुरोधअनुसार नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत सो तालीम आजदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स, नयाँ दिल्लीमा दिइएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
सो तालीमबाट विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, निवृत्तिभरण भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीको क्षमता अभिवृद्धि गरिनेछ । तालिम तीन समूहमा सञ्चालन गरिने जनाइएको छ ।