०१ माघ २०७५, काठमाडौं
पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ ।
समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्ट्रारमा नियुक्ति गरिएको र शैक्षिक योग्यताको परीक्षण नगरी उपप्राध्यापकको बढुवा गत जेठ २५ मा भएको विश्वविद्यालयसभाको कार्यादेश विपरीत भएको दाबी गर्नुभएको छ । झा विगत १८ वर्षदेखि विश्वविद्यालयको विभिन्न पदमा रहँदै आउनुभएको छ ।
विश्वविद्यालयमा सहरजिष्ट्रारको पद हालसम्म सिर्जना नगरिएको र हाल कार्यकारी परिषद्मा डीनबाट चयन हुने सदस्य पद रिक्त भई उपकुलपति र रजिष्ट्रार मात्र रहेको स्थितिमा यस्तो निर्णय गरिनु प्रक्रियागतरुपमा त्रुटिपूर्ण रहेको उहाँले बताउनुभयो । रोकाहाले यसबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सम्बन्धित कमिटीले पनि ध्यानाकर्षण गराउने जानकारी दिनुभयो ।
उहाँले विश्वविद्यालयको छवि बचाउन कुलपतिका हैसियतले विश्वविद्यालयका उपकुलपति डा घनश्यामलाल दासलगायतलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएको छ ।