०१ माघ २०७५, काठमाडौं
आठ वर्षपछि एसियाकपमा स्थान बनाएको भारत समुहचरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक स्टेफन कन्सटेनटाइनले पदबाट राजीनामा दिएका छन् । एसियन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित हुँदा उसको दोस्रो चरण संभावनाको अन्त्य भएको थियो ।
भारतले समुह ए मा रहेर ३ अंक बनाएको थियो। बेलयाती प्रशिक्षक कन्सटेनटाइनले प्रशिक्षक पद छाड्नु उपयुक्त समय भएको भन्दै भावुक बनेका थिए । उनले भने ‘मैले यो खेलपछि भारतीय टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने निर्णय गरेको छु । मैले चार वर्ष भारतीय प्रशिक्षक रहें र मेरो लक्ष्य थियो भारतलाई एसियन कपमा छनोट गराउने त्यसमा सफलता पाएको छु ।
तर, एसियन कपमा प्रदर्शन राम्रो हुन नसक्दा दुख लागेको छ ।’ उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गरे । एसियाकपमा भारतले पहिलो खेलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा युएईंसँग २–० ले पराजित भएको थियो । भने तेस्रो खेलमा बहरानसँग पराजित भयो । कन्सटेनटाइनले यसअघि सन् २००२ देखि २००५ सम्म भारतीय टिमलाई नै प्रशिक्षण दिएका थिए ।
सन् २०१५ मा कन्सटेनटाइन पुन भारतीय टिम समाल्न सुरु गरेका थिए । स्टेफन नेपाली टिमको समेत मुख्य प्रशिक्षक बनेका थिए । उनले अबको समय परिवारसँग बिताउने बताउँदै भारतीय टिम छोड्नु पर्दा दुख लागि रहेको बताए । उनले भने ‘मैले मेरो परिवारलाई पनि समय दिनुपर्नेछ । म करिव ६ वर्षदेखि परिवारसँग बस्न पाएको छैन। मेरो श्रीमतीको आज जन्मदिन थियो ।
मेरो तीन छोरीलाई मैले तीन महिना अघि मात्रै सामाजिक सञ्जालमा हेर्ने मौका पाएको थिंए ।’ पोस्टम्याचमा स्टेफनले भने। उनले यसो भनिरहँदा उनी भावविह्वल बनेका थिए ।