राजेश हमाल दाई मेरो गुरु हो : रमित ढुङ्गाना



१ माघ २०७५, काठमाडौँ

नायक रमित ढुङ्गाना एक समयमा निकै चर्चित अभिनेता थिए । उनले चलचित्र माया नमार बाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेका थिए । पहिलो चलचित्रबाट नै उनी दर्शकको अत्याधिक माया पाउन सफल भए । रमितको जीवनी हेर्दा उनी पहिले निर्माताको रुपमा नेपाली चलचित्र क्षेत्रमा आउन चाहन्थे तर पछि सबैको प्रेरणा पाएपछि उनी अभिनयमा होमिए ।

रमितले चलचित्र माया नमार गरेपछि धेरै निर्माता निर्देशकको आँखा उनमा पर्न गयो । यतिसम्म की उनी एकदिनमा ५ वटा सम्म चलचित्रको छायांकनमा जान भ्याउँथे । अहिले रमितको क्रेज पहिलेको जति छैन । हुन पनि अहिले उनी नेपाली चलचित्रबाट टाढै छन् । उनले पछिल्लो समयमा निर्माण गरेको चलचित्र बुद्ध वाज बर्न इन नेपाल बकसअफिसमा असफल साबित भयो । तर उनी उक्त चलचित्रबाट आफू खुसी भएको बताउँछन् ।

रमित राजेश हमाललाई आफ्नो गुरु मान्छन् । उनले आफ्नो पहिलो चलचित्र नै राजेश हमालसँग गरेका थिए । उनले आफू राजेश दाईको ठूलो फ्यान भएकाले उहाँसँग काम गर्न निकै डर लागेको बताए । उनले आफूलाई राजेश हमालले नै चलचित्रमा काम गर्न सिकाउनुभएको बताउँछन् । त्यसैले उनी राजेश हमाललाई आफ्नो गुरु मान्छन् ।

त्यस्तै रमितले पहिलेको तुलनामा नेपाली चलचित्र प्रविधिको हिसाबले निकै गुणस्तर भएको बताउँछन् । तर उनी भन्छन् पहिलेको तुलनामा अहिलेका चलचित्रको कथावस्तु एकदमै कमजोर छ । त्यसलाई हेर्दा चाँहि निकै दुख लाग्छ । रमितले अब आफ्नो ड्रिम प्रोजेक्ट लिएर दर्शकमाझ आउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्