०१ माघ २०७५, काठमाडौँ
नेपाल ह्याण्डबल संघद्वारा आयोजित खुल्ला राष्ट्रिय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता बूढानीलकण्ठ १० आकाशेधारामा उद्घाटन भएको छ ।
उद्घाटन खेलमा सहभागी जनाएको एपिएफले ५२ गोल गर्दा कपनले २५ गोल मात्र गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ह्याण्डबल संघका पूर्व अध्यक्ष सागर थपलिया, अतिथिहरु बूढानीलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भुप्रसाद भट्टराई, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धु्रवराज न्यौपाने, ह्याण्डबल संघका कोषाध्यक्ष मिठाराम अधिकारी, ह्याण्डबलका केन्द्रिय पदाधिकारीहरु, बूनपाका विभिन्न वडाका वडा सदस्यहरु, चिरायु अस्पक्तालका प्रतिनिधिहरु, गोल्डेन वाकका प्रतिनिधीहरु लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम संचालन ह्याण्डबल संघका उपाध्यक्ष राजन पोखरेलले गरेका थिए भने अध्यक्षता वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसीले गरेका थिए ।
प्रमुख अतिथि पूर्व अध्यक्ष थपलियाले ह्याण्डबलमा आफ्नो ठुलो देन भएको बताउँदै खेलाडी प्रोत्साहन गर्न आफ्नो तर्फबाट उत्कृष्ट पुरुष खेलाडी, पुरुष हाईएस्ट स्कोर, उत्कृष्ट महिला खेलाडी र हाईएस्ट स्कोर महिला खेलाडी सम्पुर्णलाई रु पाँच–पाँच हजार दिने घोषणा गरेका थिए ।
कार्यक्रममा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले कपनको नाम चिनाउने ह्याण्बल चौरको भौतिक संरचना विकासका लागि बूढानीलकण्ठ नगरपालिकाले १ करोड बजेट छुट्याई सकेको तथा डिपिआर समेत तयार भईसकेको जानकारी गराएका थिए ।
माघ १ गते बाट शुरु भएको खेल ३ गते सम्म जारि रहने उक्त खेलमा नेपाल आर्मी, एपिएफ, प्रदेश नं ३ र कपन क्लब गरि चार वटा समूहले भाग लिएका छन् ।