प्रधानमन्त्री ज्यु ! के जिद्दीहरुलाई नेपालमा कानुन लाग्दैन ?



०३ माघ २०७५, काठमाडौं

संबिधान भन्दा माथी पहिले पहिले राजा महाराजाहरु थिए । राजा महाराजाहरुलाई कुनैपनि ऐन कानुनले छुदैन थियो। राजा महाराजाहरुको अगाडी ऐन कानुन निरिह हुन्थ्यो भने संबिधान समेत फितलो बन्न बाध्य हुन्थ्यो। कसैले पनि राजा महाराजाहरुको अगाडी बोल्ने आँट गर्दैन थिए। बोल्नु भनेको दण्डित हुनु सम्झिन्थे , बोल्नु भनेको कानुनमाथि धावा बोल्नु सम्झिन्थे। तर यतिबेला समय परिस्थितिले बिल्कुलै कोल्टे फेरिसकेको छ । यतिबेला मुलुकमा संबिधान र कानुन भन्दा माथी कोहि पनी छैन र हुने पनी छैन ।

तर विगत केहि बर्ष देखि कानुन भन्दा माथि जानी नजानी कोहि कसैलाई विराजमान गराइदैछ। देशको २ करोड भन्दा बढी जनतालाई कानुनको दायरामा ल्याउन सक्ने सरकारले एक जना आफ्नै कनिष्ठ कर्मचारीसँग झुकिरहेको देखिन्छ। सरकारी सेवा सुविधा लिएर सरकारकै विरोध गर्ने आफ्नो कर्मचारीलाई कानुनी दायरामा ल्याउन सकिरहेको छैन सरकार। आफ्नो विरुद्ध पटक पटक अनसन बस्दा पनि कानुनी कारबाही गर्न सक्दैन नेपाल सरकार। अनि भन्ने गर्छ हामी जनताको न्यायको निम्ति सधैब कटिबद्ध छौं।

राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्न तयार भनेर भाषण गर्दै हिड्ने सरकारले जायज मागकै लागि भएपनि अजायज कदम अपनाउने डाक्टर गोविन्द केसीलाई कुनै कारबाही गर्न सक्दैन। केहि व्यक्तिको उक्साहटमा लागेर बार बार गलत बाटो अपनाइरहने केसीलाई कानुनी दायरामा ल्याउन सकिरहेको देखिन्न सरकार । अब त हुँदा हुँदा कुन ठाउँमा के गर्ने कस्तो गर्ने भन्ने सल्लाह पनि सरकारले सुरुमा केसीसँग गरेर मात्रै अगाडी बढ्नु पर्ने अवस्था आइसकेको प्रष्ट हुँदैछ।

एउटी महिलालाई प्रसाव पिडाले छट्पटाई रहेको अवस्थामा हस्पिटल पुर्याउदा हस्पिटल बन्द छ। एउटी बुढी आमालाई मधुमेहले च्यापेर आकस्मिक हस्पिटल पुर्याउदा हस्पिटल आन्दोलित छ। दुर्घटनामा परि अंगभंग भएको अवस्थामा एउटा बालक हस्पिटलको बेडमा जीवनको अन्तिम भिख माग्दै चिच्याई रहेको अवस्थामा डाक्टरहरु हेर्न आउदैनन र भन्छन हामी आन्दोलनमा छौं। हस्पिटल भित्र हस्पितालाकै कर्मचारी मैले भनेको भएन भने पानी पनि खाने छैन भन्दै सरकारलाई घुर्की देखाउदै बस्छ। मानव अधिकारवादीहरु हस्पिटल भित्रको चित्कार सुन्दैनन् बरु लाचार भएर तिनै हस्पिटल बन्दग बनाउनेहरुको पक्षमा बोल्छन। हस्पिटलको शैयामा छट्पटाई रहेको विरामीको निम्ति हैन सरकारको मासिक तलब भत्ता खाएर हस्पिटलमा लम्पसार परेर सुतिरहेको एउटा कर्मचारीको मानव अधिकार देख्छन मानव अधिकारवादीहरु।

रत्नपार्कको सार्वजनिक पिपलको रुखमाथी बसेर आफ्नो कुराहरु राख्दा मुकुन्देले सजाय पाउने तर केसीले किन नपाउने ? राष्ट्रिय जनवार गाई बनाएको नयाँ ऐन कानुनको बिरोधमा शिंहदरवार अगाडी अनामनगरमा कागजको पन्नाले आफ्नो गुप्ताङ्ग छोपेर हिड्दा विकिन लिम्बुलाई सार्वजानिक मुद्दा लाग्ने तर केसीलाई किन नलाग्ने ? बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै माइतिघर मन्डालामा भेला भएका महिलाहरु माथी बल प्रयोग गर्न सक्ने प्रहरीले किन केसीलाई केही गर्न सक्दैन ? एउटा प्राइभेट कम्पनीको जागिर खाएर सामाजिक काममा आफुलाई समर्पित गराएका रवि लामिछानेले विभिन्न समस्यामा झेलिएका पिडितहरुलाई न्याय दिदै गर्दा कानुन हातमा लियो भन्दै औंला ठड्याउने , विरोधका शब्दहरुले सामाजिक संजाल रंगाउने ति न्यायप्रेमी मनहरुले डाक्टर केसीको विरुद्दमा केहि लेख्न सक्दैनन् ?

केसी साब मात्र एउटा यस्तो पात्र हुन् जो आफ्नो विरुद्दमा देखिने सबैको नाममा अनसन बसेर समय बिताइरहेका छन्। अख्तियारले आफु प्रति आखा लगायो भने अख्तियार प्रमुखकै विरुद्दमा, सर्बोच्च अदालतले औंला ठड्डायो भने सर्बोच्च अदालतकै प्रधान न्यायाधीश विरुद्द अनसन बसेर घुडा टेकाउन पल्केका केसीले बारबार गलत बाटो अपनाईरहेका छन्। उनको माग जायज हुँदा हुदै पनि कदम विल्कुलै गलत छ। के यस्तो गलत कदमको निम्ति उनलाई कुनै कानुन लाग्दैन श्रीमान् ?

एउटा शिक्षक स्कुल गएर पढाउनुको साट्टो स्कुल भित्रै अनसन बस्छ, एउटा न्यायाधीश अदालत गएर न्याय दिनुको साट्टो अदालत भित्रै अनसन बस्छ, एउटा प्रहरीले जनतालाई सुरक्षा दिनुको साट्टो प्रहरी कार्यालय भित्रै अनसन बस्छ, एउटा पाइलट हावाई जहाज उदाउन छाडेर विमानस्थल भित्रै अनसन बस्छ भने उनीहरुलाई कानुन लाग्छकी लाग्दैन ? यदि उनीहरुलाई कानुन लाग्छ भने बिरामीको उपछार गर्न छाडेर अनसन बस्ने डाक्टर केसीलाई पनि त्यो कानुन लाग्नु पर्छ। केसी साबलाई कानुन लाग्दैन भने कुनै पनि नेपालीलाई अब देखि कानुन लाग्नु हुदैन। यदि जिद्दीहरुले देश बन्धक बनाइरहने र कानुन टुलुटुलु हेरेर बसिरहने हो भने अब घोषणा गरियोस सबै नेपालीहरु कानुन भन्दा माथि रहनेछन भनेर।

आफ्ना मागहरुलाई जनताले विश्वास गरेर पठाएको संसदमा छलफल र बहस गर्न मान्दैनन्। आफुले राखेका सबै मागहरु सुनका अक्षरले कुदिएका हुन् र त्यसलाई सरकारले विनाशर्त कुदिदिउन भन्ने जिद्दी देखाउछन। के सबै नेपालीहरुले अब आफ्नो माग यसरि नै जिद्धि गरेर पुरा गराउने प्रचलन आउन लागेको होर ? यस्तै हो भने भोलि कसैले भोक लाग्यो काम नगरी खान पाउ भन्दै अनसन बस्ला, कोहि सरकारकै पैसामा बिहे गरिदिनु पर्यो भन्दै अनसन बस्ला, कोहि मलाई मात्र सबैभन्दा राम्रो जागिर दिनु पर्यो भन्दै अनसन बस्ला, कोहि मेरो छोराछोरीको सरकारले पालन पोषण गरिदिनुपर्यो भन्दै अनसन बस्ला। त्यतिबेला देशको अवस्था कता पुग्ला ?

अझै पनि आम नेपालीहरुले दुई तिहाईको सरकारसँग विकासको आसा गरिरहेका छन्। अझै पनि ति तमाम जनताहरु सामाजिक सुरक्षा र सम्मानित जीवन विताउन चाहन्छन। देशले छोटो समयमा ठुलो कायापलट गरेको हेर्न आतुर छन् आसावादी जनताहरु। कहिल्यै बन्द र हड्ताल नहुने भनेर परिचित स्वास्थ्य र शिक्षा कसैले बन्दक बनाएको देख्न चाहान्नन् जनताहरु। के अब सरकार ति नै केसीको चर्तिकला हेरेर बसिरहने कि उनलाई कानुनीदायरामा ल्याएर बाँकी उर्जाशील समय विकासशील काममा खर्च गर्ने यो यतिबेला सबैको चासोको विषय बनेको छ।

श्रीमान् ! तपाइले पढेको कानुन अनुसार के जिद्दीहरुलाई नेपालमा कुनै कानुन लाग्दैन ? प्रधानमन्त्री ज्यु ! तपाईले पढेको विधान अनुसार के लाचाडीहरु र लाज पचेकाहरुको निम्ति नेपालमा कुनै विधान छैन ? के नेपालमा दुनियालाई लाग्ने कानुन डाक्टर केसीलाई लाग्दैन ? अनसन बसेरै आफ्नो माग पुरा गराउछु भन्ने सपना बोक्ने अनसनको पिता अनसन शिरोमणि केसी संबिधान भन्दा माथी हुन ? यदि उनि संबिधान र कानुन भन्दा माथि नै हुन् भने स्पष्ट रुपमा हामीलाई भानिबक्सियोस नत्र कसैलाई काख र कसैलाई पाखा पार्ने कुचेष्टा नगरिबक्सियोस यो न्यायप्रेमी जनताको आवाज हो।

प्रतिक्रिया दिनुहोस्