केराखेतीबाट मनग्य आम्दानी



०४ माघ २०७५, परासी

सुस्ता गाउँपालिका–४ नर्सहीकी आशमाया गुरुङ प्रायः केराघारीमै भेटिनुहुन्छ । विगत सात वर्षदेखि केराखेती गर्दै आउनुभएकी आशमायाले यो खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । चार बिघामा केराखेती गरेर वार्षिक रु २५ लाखसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।

उखुखेती छोडेर केराखेती थाल्नुभएकी उहाँले उखुको तुलनामा केराखेतीबाट दोब्बर बढी फाइदा हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केराखेती नगदेवाली र छिटो हातमा पैसा आउने खेती भएकाले अहिले हामी यो खेतीतर्फ आकर्षित भएका हौँ ।’’

पहिला उखुखेती गर्दा उखुको भुक्तानी समयमा नपाइने समस्याले ऋण गरेर खर्च धान्नुपर्ने बाध्यता थियो । अहिले दिनचर्या नै केराघारीमा बित्ने गरेको छ, मनग्य पैसा पनि आउने गरेको छ ।

विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएका प्रतापपुरका लख्खु यादवले पनि यही खेतीबाट वार्षिक रु १२ लाख बचत गर्न सफल हुनुहुन्छ । नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष रहनुभएका यादवले एक बिघा क्षेत्रफलमा यो खेती गर्नुभएको छ ।

“नगदेवालीकै रुपमा रहेको उखुखेतीबाट दिक्क भएपछि उखुलाई विस्थापित गरी यो खेती थालेँ”, उहाँले भन्नुभयो । आशमाया र लख्खु जस्तै अहिले पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा मात्रै ८८२ जना कृषकले व्यावसायिक रुपमा केरा खेती गरिरहेका छन् । सुस्ता गाउँपालिकामा मात्रै ६१८ जनाले केराखेती गरेका छन् । उखुको पकेट क्षेत्रको रुपमा चिनिएको यो क्षेत्र यतिबेला भने केराखेतीको पकेट क्षेत्र बन्दै गएको छ ।

उखुको उर्वरभूमि रहेपनि पछिल्ला केही वर्षदेखि उखुखेती छोडेर यहाँका ३५ प्रतिशत किसानले केराखेती गरेका छन् । उखु मिलहरुले समयमा भुक्तानी नदिने, समयमा र उचित मूल्य निर्धारण नहुने लगायतका समस्या झेल्नु परेपछि यहाँका किसानले केरालाई वैकल्पिक खेतीको रुपमा अङ्गालेका हुन् ।

नवलपरासी केरा उत्पादक सङ्घका अनुसार किसानले जिल्लामा टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाइब्रिड उन्नत जातका केराखेती गर्दै आएका छन् । यहाँ १२०० बिघा क्षेत्रफलमा केराखेती गरिएको छ । एक कठ्ठामा ५०÷६० हजार आम्दानी हुने गरेको छ, जबकी खर्च १५÷२० हजार मात्रै लाग्छ ।

नवलपरासीमा उत्पादन हुने केरा नारायणघाट, पोखरा, बुटवल, भैरहवा र काठमाडौँसम्म पुग्ने गरेको सङ्घका अध्यक्ष यादव बताउनुहुन्छ । चाडपर्वको बेला धेरै माग हुने भएकाले व्यापारी खेतमै पुग्ने गरेका छन् ।

भारतबाट केराको आयातलाई घटाउन सकेमा नेपाली किसानले उब्जाएको केराले राम्रो बजार पाउने उल्लेख गर्दै उहाँ थप्नुहुन्छ । “सरकारले केराका लागि ल्याएको बीमा नीतिलाई किसानमैत्री बनाउने, बजार व्यवस्थापन, बाढीबाट जोगाउने उपाय, सहुलियत दरमा बीउबिजन, मलखादको व्यवस्था गरेमा केराबाट किसान आत्मनिर्भर बन्छन् ।” बाढी प्रभावित क्षेत्र भएकाले यहाँका किसानले वर्षैनी लगायतको केराखेतीमा नोक्साउन पुराउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्