द्द०४ माघ २०७५, बाँके
प्रति बाह्य र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । होमस्टे सञ्चालकहरु पर्यटकलाई लोभ्याउन अझ बढी सेवासुविधा थप्ने धूनमा छन् । होमस्टेले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जंगल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैलीको स्वाद र सङ्ग्रहालय अवलोकनको मज्जा दिलाउँछन् ।
प्रदेश न ५ मा ३२ वटा होमस्टे रहेका छन् । त्यसमा १७ वटा निजी र १५ वटा सामुदायिक छन् । दश वटा दर्ता प्रक्रियामा छन् । तर, प्रदेश ५ को सरकारले अहिलेसम्म होमस्टे सञ्चालन कार्यविधि बनाउन नसक्दा दर्ता प्रक्रियामा रहेका होमस्टे अन्यौलमा रहेका छन् । दर्ता भएका होमस्टेको कसरी नवीकरण गर्ने भन्नेमा पनि अलमल छ । पर्यटन कार्यालयको खारेजीपछि दर्ता र नवीकरणको विषयमा होमस्टे सञ्चालकहरु अन्यौलमा परेका हुन् ।
होमस्टे एशोसिएशन नेपाल ९होसान० का प्रदेश नं ५ का सचिव कृष्णलाल चौधरीले प्रदेश सरकारले होमस्टे कार्यविधि नबनाउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो – “प्रदेश सरकारले होमस्टेलाई वर्गीकरण गरेर अघि बढ्न जरुरी छ तर, कार्यविधि नै नबन्दा अन्यौल देखिएको छ । हामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग कार्यविधि बनाउन आग्रह गरिरहेका छौं ।”
होमस्टेलाई जीविकोपार्जनको रुपमा नभई आयआर्जनको माध्यमका रुपमा अघि सार्नुपर्ने बहस शुरु भएको छ । होमस्टे भन्ने बित्तिकै सबैको हेराइ एकै प्रकारको रहेकाले सेवा सुविधाका आधारमा वर्गीकरण गरेर अघि बढ्न जरुरी रहेको सचिव चौधरीको धारणा छ । “होमस्टेलाई क, ख, ग र घ वर्गमा वर्गीकरण गर्नुपर्ने कुरा उठेको छ,” उहाँले भन्नुभयो – “अब वर्गीकरण गरेर नै अघि बढ्नुपर्छ ।”
सामुदायिक होमस्टे चलाउन कम्तीमा पाँच घर मिल्नुपर्छ । होसानका अनुसार प्रदेश नं ५ मा सञ्चालित होमस्टेले वार्षिक ५० हजार पर्यटकलाई सेवा दिइरहेका छन् । प्रदेश ५ का बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु, रुपन्देही, पाल्पा लगायतका जिल्लामा व्यवस्थित होमस्टेहरु सञ्चालनमा रहेका छन् । सरकारले पर्यटनका लागि गरेको एकसय गन्तव्य क्षेत्रको घोषणामा यो प्रदेशका केही होमस्टेहरु पनि समेटिएका छन् ।
स्थानीय तहले दर्ता, नवीकरण र अनुगमन गर्नुपर्ने भए पनि कार्यविधिले अन्यौलता थपेको होसानका केन्द्रीय सदस्य पूर्णचन्द्र उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले स्वरोजगार सिर्जना गरेका छौं तर, राज्यले कार्यविधि नै नबनाएर अन्यौलता थपेको छ ।” अहिले पनि दर्ता प्रक्रियामा रहेका र नवीकरण गर्नुपर्ने होमस्टेहरु कसरी सञ्चालन गर्ने भन्नेमा अन्यौल कायम रहेको उहाँ स्वीकार्नुहुन्छ ।
केन्द्रीय सदस्य उपाध्यायले भन्नुभयो – “स्थानीय संस्कृति र प्रकृतिको आनन्द लिन पर्यटकहरु होमस्टेमा आउने गर्छन् । यसलाई व्यवस्थित गर्न प्रदेश सरकारले तत्काल कार्यविधि बनाएर दर्ता र नवीकरणको बाटो खुला गर्नुपर्छ ।” सामुदायिक उद्योगको रुपमा विकास भएकाले होमस्टे सञ्चालनलाई राज्यले बढावा दिनुुपर्ने उहाँको भनाइ छ । सरकारले होमस्टे कार्यविधि २०६७ सञ्चालनमा ल्याएपछि होमस्टे खोल्ने क्रम बढेको हो ।
सङ्घीयतासँगै होमस्टे सञ्चालनका लागि दर्ता, नवीकरण लगायतका अधिकारहरु प्रदेश सरकार मातहत आएका छन् तर, प्रदेश सरकारले अहिलेसम्म पनि कार्यविधि तयार गर्न नसक्दा होमस्टेको दर्ता, नवीकरण लगायत अन्य स्तरोन्नतिका कामहरु रोकिएको छ । सचिव चौधरीका अनुसार होटलको तुलनामा निकै सस्तो मूल्यमा होमस्टेले सेवा दिने गरेकाले पर्यटकहरु होमस्टेतर्फ आकर्षित हुने गरेका छन् ।
आधुनिक घरहरूका साथै नयाँ नयाँ पर्यटकीय गन्तव्य स्थलहरूमा समेत होमस्टे विस्तार गर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने डल्ला सामुदायिक होमस्टे बर्दियाका अध्यक्ष पर्शुराम चौधरीको विचार छ । उहाँले भन्नुभयो –“सरकारले नीति बनाउनुपर्छ । हामी त्यो नीतिभित्र चल्छौं भनेका छौं तर, सरकारले स्पष्ट नीति नबनाएर हामीलाई समस्या भइरहेको छ । हामीले यही माग प्रदेश सरकारसामु पनि राखेका छौं ।”
ग्रामीण क्षेत्रको भ्रमण एवं पदयात्रामा निस्कने पर्यटकहरूलाई स्थानीयस्तरमै सञ्चालित होमस्टेले सेवा दिइरहेका छन् । चौधरीले आशावादी बन्दै भन्नुभयो – “सरकारले समयमा नीति नबनाउँदा त्यसको मारमा होमस्टे सञ्चालकहरु परिरहेका छन् । हामीले होमस्टेलाई व्यवस्थित गर्न प्रदेश सरकारसँग कार्यविधि बनाउन भनिरहेका छौं । सम्भवतः अब छिट्टै कार्यविधि बन्ला र हाम्रो समस्याको समाधान होला ।”
स्वदेशी पर्यटकको चाप धेरै
ग्रामीण भेगमा उत्पादित स्वस्थ उत्पादन र शान्त वातावरणका कारण आजभोलि विदेशी भन्दा स्वदेशी पर्यटकहरुको चाप धेरै छ । सस्तो र ताजा खाना खान पाउने भएपछि शहरका महङ्गा होटल छाडेर पर्यटकहरु गाउँका कुनाकन्दरामा रहेका होमस्टे पुग्छन् र आनन्द लिने गर्छन् । पछिल्लो समय नेपाली व्यापारीहरुसमेत होमस्टेमा आउने संस्कारको विकास भएको सत्खलुवा सामुदायिक होमस्टे खैरेनीका अध्यक्ष सुरेश आचार्यले बताउनुभयो ।
स्थानीय स्वास्थ्य केन्द्रबाट पानी तथा खानेकुराहरु स्वच्छ छन् भन्ने प्रमाणित भएपछि मात्रै सरकारले होमस्टे सञ्चालन गर्न अनुमति दिने गर्छ । एउटा घरमा कम्तीमा एकदेखि चार वटासम्म कोठा हुनुपर्ने मापदण्ड छ ।
“एकान्त र पारिवारिक वातावरण हुने भएपछि स्वदेशी पर्यटकहरु पनि धेरै आउनुहुन्छ,” अध्यक्ष आचार्यले भन्नुभयो – “पर्यटकहरु शहर भन्दा गाउँको वातावरण र खानपान मन पराउनुहुन्छ ।” होमस्टेमार्फत गाउँको विकास गर्न सकिने सम्भावना धेरै रहेकाले पनि सरकारले यसको प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । “स्वच्छ, राम्रो र सस्तो खानपानले पर्यटकलाई लोभ्याउँछ,” उहाँले भन्नुभयो ।
नेपाल आउने विदेशी पर्यटकहरू शहरका ठूला र महङ्गा होटल भन्दा ग्रामीण क्षेत्रमा होमस्टेमा बस्न रूचाउँछन् । ग्रामीण पर्यटनको अवधारणाअन्तर्गत होमस्टेलाई लिइन्छ । शहरदेखि गाउँसम्म होमस्टे सञ्चालनको अवधारणालाई सरकारले अघि बढाएका कारण गाउँले परिवेश र आतिथ्यतामा रमाउन खोज्ने स्वदेशी र विदेश पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ ।