।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्
अथ षष्ठोऽध्यायः
नारदको अन्तिम पूर्वचरित्र
नारदका रुपमा जन्मिनुका कारण र त्यस बेलाका कर्मका विषयमा व्यासलाई जिज्ञासा भयो । अनि व्यासले सोधे- तिम्रा विशिष्ट ज्ञानदाताहरु गएपछि तिमीले के गर्याै ? कस्ता कार्य र व्यवहारले तिम्रो विगत बित्यो र कसरी शरीर त्याग्यौ ? कालले पहिलो जन्मको स्मृति सबै नाश गर्छ, तर तिम्रो किन स्मृति हराएन ?
नारदले भने- मलाई ज्ञान दिने भिक्षुहरु अर्कातिर गए । म त्यो उमेरबाट पछिसम्म उसै गरिरहेँ । मलाई जन्माउने आमा मूर्ख स्त्री थिइन् । एक्लो छोरो अन्यत्र जाला कि भनेर स्नेहले बाँधिन् । साहुको परतन्त्रमा रहँदा उनले चाहेर पनि मेरो योगक्षेम हुन सकेन । दिशा, देश, कालको थाहा नभएको पाँच वर्षे बालक म उनकै आश्रयमा त्यसै ब्रह्मकुलमा बसिरहेँ । साँझमा गाई दुहुन जाँदा बिचरीलाई बाटैमा सर्पले ठुङेछ, उनी गइन् । भक्तप्रति भगवान्को कृपा हो भन्ठान्दै म उत्तर दिशातिर लागेँ । सहर, गाउँ, गोठ, खानी, खेत, खलो, वन उपवन, धातुका खानी, पर्वत, हात्तीले हाँगा भाँचेका रुख, तलाउ, सफा पानी, देवताको पूजा गरिने कमल, चराको चिर्बिर, भमरा उडेका, नल, मालिङ्गो, काँस, कुश र बाँसघारी कट्तै गएँ ।
थाम्न नसकिने गरी डर लाग्यो । सर्प, लाटोकोसेरो, स्याल बस्ने घना जङ्गल देखेँ । शरीर र मन थाकेको मैले भोकतिर्खाले आत्तिँदै नुहाएँ, अनि तलाउमा नलीले पानी खाएर थकाइ मेटेँ । त्यस निर्जन वनमा पिपलका फेदमा बसेर आफैँ आफ्ना आत्मामा बस्नेलाई विधिवत् ध्यान गरेँ । चरणपद्मको ध्यान गर्ने, चित्तका भाव जित्ने, उत्सुक आँखामा आँसु भर्ने मेरा मनमा बिस्तारै हरि बसे । अति पुलकित अङ्ग र अत्यन्त प्रगाढ प्रेमले म आनन्दसागरमा डुबेँ, अन्य केही देखिनँ । मन रमाउने, पवित्र गराउने भगवान्को रुप चित्तमा देखेपछि अन्कनाएझैँ उभिएँ । फेरि मैले ध्यान लगाएर हेरेँ तापनि नदेखेर दुःखी भएँ । अदृश्य वाणीले धीर, कोमल, पवित्र बोलीमा चिन्ता मेट्तै मसँग भन्यो- यस जन्ममा मलाई देख्तैनौ । अपरिपक्व योगीले मलाई देख्तैन । तिम्रो कामनाले एकपटक पवित्र रुप देखाएँ । मलाई खोज्ने सज्जनको हृदयबाट इच्छा मेटिन्छ । छोटो सत्सङ्गले नै तिम्रो मन ममा लाग्यो । यस लोकलाई छोडेपछि तिमी मेरा निकट आउँछौँ । ममा बुद्धि लगाउँदा तिमीलाई आपद् पर्दैन । सृष्टि मासिए पनि मेरा कृपाले तिम्रो स्मृति रहन्छ ।
आकाशवाणी यति भनेर चुप भयो । मैले आकाश समान व्यापक ईश्वरको यो कृपा अनुभव गर्दै शिर झुकाएर ढोगेँ । त्यसपछि मैले धक फुकाएर अनन्तका कल्याणकारी र गोप्य नामहरु जपेँ । मोहरहित भएर धर्तीमा खुसी साथ घुम्दै स्पृहा, मद र मात्सर्यलाई समाप्त पारेर समयको प्रतीक्षा गरिरहेँ ।
अनासक्त भई पवित्रबुद्धिले कृष्णमा लीन भएको मेरा लागि बिजुलीझैँ समय बित्यो । प्रारब्धकर्म सकेर म त्यो शुद्ध भगवान्मय शरीरमा प्रवेश गरेपछि मेरो पाञ्चभौतिक शरीर ढल्यो । जलमा शयन गरेका भगवान्मा ब्रह्मा प्रवेश गर्दा म पनि उनकै श्वाससँगै पसेँ । हजार युगपछि सृष्टि गर्ने रहरले ब्रह्मा उठे र उनकै श्वासद्वारा मरीचिहरुसँगै म उत्पन्न भएँ । म विष्णुका कृपाले अल्छी नगरी अखण्ड ब्रह्मचर्यमा रहँदै निर्बाध गतिले तीनै लोकका भित्र र बाहिर घुम्छु । स्वरब्रह्मका स्वरले सजिएको, देवताले दिएको, यस वीणामा हरिकथाको ताल दिएर गाउँदै घुम्छु । तीर्थपाद, प्रियश्रवका पराक्रमहरु गाउँदा बोलाइएझैँ उनी चाँडै मेरा चित्तमा देखिन आउँछन् । यही हरिकथा मात्रै दुःखित चित्त हुनेलाई भवसिन्धुको डुँगा हुँदो रहेछ भन्ने मैले जानेँ । बारम्बार काम, लोभले सताइनेको चित्त यमादि योग मार्गले शान्त गर्न नसक्ता मुकुन्दसेवाले शान्त हुन्छ । तिमीले सोधेको मेरा जन्मकर्मको रहस्य सबै तिम्रो चित्त शान्तिका लागि मैले भनेँ भन्दै नारद वीणा बजाउँदै विदा लिएर मन लागेका लोकतिर हिँडे ।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे व्यासनारदसंवादे षष्ठोऽध्यायः ।।६।।