इङ्लिस प्रिमियर लिग : लिभरपुलको जित



०६ माघ २०७५, काठमाडौं

इङ्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको लिगको २३औं खेलमा उसले आफ्नो घरमा क्रिस्टल प्यालेसमाथि ४–३ को जित निकालेको हो ।

आफ्नो घरमा लिभरपुल खेलको ८९औं मिनेटमा  १० खेलाडीमा सीमित भएको थियो । उसका खेलाडी जेम्स मिल्नर रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

लिभरपुलको घर एनफिल्डमा पाहुना टोलीले प्यालेसले ३४औं मिनेटमा गोलको खाता खोलेको थियो । सोही गोलको मदतमा उसले पहिलो हाफमा १–० को अग्रता बनायो ।

तर, दोस्रो हाफमा खेलमा घरेलु टोली हाबी भयो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा लिभरपुलका लागि मोहमद सालाहले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि खेलको ५३औं मिनेमा रोवर्ट फर्मिन्होले गोल गरेर खेल २–१ बनाए ।

तर, खेलको ६५औं मिनेटमा प्यालेसका लागि जेम्स टमकिन्सले गोल गरेर खेल २–२ बनाए । त्यसपछि खेलको ७५औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गरेर खेल ३–२ बनाए ।

त्यसपछि ९० मिनेटपछि थपिएको तेस्रो मिनेटमा लिभरपुलका लागि साडियो मानेले गोल गरेर खेल ४–२ बनाए । तर, त्यसको २ मिनेटमै प्यालेसका लागि म्याक्स मेयरले गोल गरेर खेल ४–३ बनाए पनि उनले टोलीका हार टार्न भने सकेनन् ।

प्रतिक्रिया दिनुहोस्