७ माघ २०७५, काठमाडौँ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच महासमिति बैठकपछि सम्बन्ध सुध्रियो भनिएपनि अहिलेसम्म उनीहरुबीच सौहार्दता देखिएको छैन ।
गत शुक्रबार दुवै नेता काठमाडौंस्थित् त्रिभुवन विमानस्थलमा भेटिए । देउवा पोखरा र पौडेल चितवन जान एयरपोर्ट पुगेका थिए । तर, उनीहरुबीच डेढ घण्टासम्म सँगै बस्दापनि बोलचाल नभएको खुलासा भएको छ ।
स्रोतका अनुसार प्लेन डिले भएको कारण उनीहरु विमानस्थलमा डेढ घण्टा कुर्नुपरेको थियो । तर, डेढ घण्टासम्म सँगै बस्दापनि उनीहरुबीच बोलचाल नहुँदा त्यहाँ रहेका मानिसहरु ट्वाँ परेका थिए
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर शर्मापनि एयरपोर्टमा भेट भए । बरु, पौडेल शर्मासँग भलाकुसारी गर्नतिर लागे । तर, देउवा र पौडेलबीच सम्वाद भएन । पौडेलले खेलकुदको बारेमा कस्तो छ प्रगति भनेर शर्मासँग सोधेका थिए । र, शर्माले पनि पछिल्लो अवस्थाबारे नेता पौडेललाई ब्रिफिङ गरेको स्रोतका दाबी छ ।
पौडेल र शर्माबीच सम्वाद भैरहँदा सभापति देउवा भने पत्रिका पढेर बसेका थिए । पछि कांग्रेस नेता गोपालमान श्रेष्ठ पनि विमास्थल पुगे । उनलाई देख्ने बित्तिकै पौडेलले सोधे, ‘के छ गोपालमानजी, म पनि स्याङ्जा जाने कार्यक्रम छ । के छ तयारी ?’
श्रेष्ठले आफ्नो गृहजिल्लामा देउवाजी र तपाई जाने कार्यक्रम भएर त म पनि जान लागेको भनेर जवाफ दिए । श्रेष्ठसँग पौडेलले सम्वाद गरे । तर, देउवा र पौडेलबीच एक शब्दपनि बोलचाल भएन । एक शब्द नबोलिकन दुवै नेता आ–आफ्नो गन्तव्यमा जान जहाज चढेको स्रोतको दाबी छ ।