रोनाल्डो कर छलीको मुद्दामा दोषी ठहर, जेल सजाय सम्म हुने फैसला



०९ माघ २०७५, काठमाडौं

बलात्कारको केश सेलाउन नपाउँदै विश्व फुटबलका उत्कृष्ट खेलाडी रोनाल्डोमाथि अर्को आरोप लागेको छ । ३३ वर्षीय पोर्चुगिज फरवार्डलाई हिजो (मंगलबार) स्पेनस्थित कर कार्यालयले कर छली मुद्दामा दोषी ठहर गरेको हो ।

कर छली मुद्दाको फैसला हुने दिन रोनाल्डो आज बिहानै स्पेनस्थित मड्रिड पुगेका थिए । जसमा त्यहाँको कर कार्यालयले रोनाल्डोको मुद्दामा फैसला गर्दै दोषी ठहर गरेको हो ।

अदालतले रोनाल्डोमाथि कर छली मुद्दामा दोषी ठहर गर्दै १८/८ मिलियन युरो जरिमाना तिराउने फैसला गरेको छ । त्यसैगरी, उनलाई २३ महिनाको जेल सजायको फैसलासमेत भएको छ ।

रोनाल्डोले अदालतको फैसला स्वीकार गरेका छन् । अदालतले जेल सजायको फैसला गरे पनि रोनाल्डोले जेल नै भने जानुपर्ने छैन । स्पेनको कानुनअनुसार २ वर्षसम्मको जेल सजायका लागि जेल नै जानु पर्दैन । त्यसबापत थप जरिमाना भुक्तानी गरे हुन्छ ।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा अनुबन्ध भएका रोनाल्डोले २०११ देखि २०१४ को बीचमा विभिन्न चार शीर्षकका कर छलेको आरोप लागेको थिया । जसमा उनले १४ करोड ७६ लाख ६८ हजार ८ सय ९७ युरो बराबर आम्दानीको कर नतिरेको भन्दै कर कार्यालयले छानबिन गरिरहेको थियो ।

स्पेनका ठूला स्टार फुटबलर कर छलीमा मुद्दामा पटक–पटक दोषी ठहर हुँदै आएका छन् । यसअघि बार्सिलोनाका लिओनल मेस्सी पनि कर छलीमा दोषी ठहर भइसकेका थिए । अन्य थुप्रै फुटबलर अदालती कारबाहीमा परिसकेका छन् ।

रोनाल्डो यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर युभेन्टसमा अनुबन्ध भएका थिए । ९ वर्ष रियलमा रहेका रोनाल्डोले क्लब छाड्नुका कारणमध्ये एउटा कर छली पनि रहेको बताइन्छ ।

रोनाल्डोले अघिल्लो दिन सिरी ‘ए’ फुटलमा चिइभोविरुद्ध खेलेका थिए । युभेन्टसले सो खेल ३–० ले जितेको थिए । सो खेलमा रोनाल्डो गोलविहीन बनेका थिए । उनले पेनाल्टीसमेत गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्